नवनियुक्त तीन जना मन्त्रीले सोमबार सपथ लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट सरकारका सहभागी भएका तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको सपथ गराइन् ।
सपथ लिनेहरुमा विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोरा, वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापा रहेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको सहभागिता थियो ।
प्रधानमन्त्री देउवाले बोहोरा, पाण्डे र थापालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसैगरी प्रधानमन्त्री देउवाले उद्योग राज्यमन्त्रीमा रेशम लामालाई नियुक्त गरेका छन् । योसँगै प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डल ५४ सदस्यीय भएको छ ।
यो नेपालको इतिहासमै सबैभन्दा जम्बो मन्त्रिपरिषद् हो । इमेजखबरमा समाचार छ ।