स्थानीय निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल

स्थानीय तह निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल गरिएको छ । 
शुक्रबार मध्य राति १२ बजेबाट ७२ घण्टाका लागि नाका सिल गरिएको हो । मुलुककै मुख्य नाका वीरगन्ज-रक्सौलको भन्सारमा ढाट लगाइएको छ । अत्यावश्यक बाहेक अन्य सवारी आवागमनमा निषेध गरिएको छ । कान्तिपुरमा समाचार छ ।
एम्बुलेन्स र इन्धन बोकेका बाहेक अन्य सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए । भारतबाट सिर्सिया सुख्खा बन्दरगाहमा भित्रिने मालबाहक रेललाई रोक नलगाइएको उनले जानकारी दिए । मुलुकको लाइफलाइन नै ठप्प पार्ने गरी सीमा सिल गरिएको होइन, उनले भने, अत्यावश्यक वस्तु तथा सवारीको आगमनमा रोक लगाउन मिल्दैन ।
पैदल यात्रुलाई तत्कालका लागि रोक नलगाइएको उनले बताए । रिक्सा, इरिक्सा, टांगालगायत सवारीलाई पनि रजतजयन्ती चोकमै रोकिएको छ । यात्रु त्यहाँबाट सीमामा रहेको मितेरी पुलसम्म पैदल जाने गरेका छन् । भारतबाट आउनेहरु पनि मितेरी पुलबाट पैदल आउँछन् । 
सर्वसाधारणलाई आवागमनमै रोक लगाउन खोजिएको होइन, परिचयपत्र हेरेर व्यवस्थित रुपमा आउजाउ व्यवस्था मिलाइएको छ । निर्वाचन लक्षित सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै यसो गरिएको हो, उनले भने, ग्रामीण भेगका जानकी टोल, भिष्वालगायत नाकामा कडाई गरिए पनि आवागमन नै ठप्प पारिएको छैन, खुल्ला सीमा भएकाले काँडे तार लगाएर मात्र सीमा पूर्ण रुपमा सिल गर्न सम्भव छ ।
निर्वाचनको २४ घण्टा अघिसम्म पैदल यात्रुलाई आउजाउ सुविधा भए पनि त्यसपछि भने उनीहरुलाई पनि रोक लगाइने उनले बताए । जिल्लाको १ सय ७ किमि भूभाग भारतको बिहार राज्यसँग जोडिएको छ ।
भन्सारको कामकाज नियमित 
मुख्य नाका सिल गरिए पनि वीरगन्ज भन्सार कार्यालयको नियमित कारोबार शनिबार पनि जारी रहेको कार्यालयका सूचना अधिकृत सन्तोष यादवले बताए । सीमा सिल भए पनि भन्सारको नियमित काम भने जारी छ, उनले भने, शुक्रबार राति १२ बजेसम्म ठूलो संख्यामा मालबाहक सवारी भित्रिएका छन् ।
उनले आयातकर्ताले आइतबारसम्मै मालसामान छुटाएर लग्ने संभावना रहेकाले सोमबार चुनावको दिनबाहेक अन्य दिन भन्सार सञ्चालनमा रहने जानकारी दिए । शनिबार समेत भन्सार आधा दिन खुला छ । चाड पर्व तथा चुनावले बिदा पर्ने भएकाले आयातकर्ताले सवारी साधन तथा दैनिक उपभोग्य बस्तु ठूलो परिमाणमा सीमापारीबाट भन्सार यार्ड तथा बाहिर सडकमा समेत ल्याएर राखेका छन् । 
धनुषामा पनि कडाइ
धनुषास्थित नेपाल-भारत सीमा नाकामा पनि कडाई गरिएको छ । सुरक्षाकर्मीले नाका सिल गरेर गस्ती बढाएका हुन् । जिल्लाका खजुरी, महिनाथपुर, धनौजि, देबडिहा, नगराइन र फुलगमालगायत नाकामा सशस्त्रका सीमा सुरक्षा पोस्ट (बीओपी)ले सिल गरेर सुरक्षा गस्ती बढाएको जनाएको छ । कान्तिपुरमा समाचार छ ।
जनकपुरसँग जोडिने जटही नाका शनिबार बिहानैदेखि सिल गरिएको सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक गोपालबहादुर कुवरले बताए । 
भारततर्फ एसएसबीले पनि सुरक्षा कडा पारेको छ । सीमावर्ती क्षेत्रका अधिकारीका बिचमा भएको सुरक्षा बैठकपछि भारतीय प्रहरीले चुनावमा हुनसक्ने अपराधिक गतिविधिलाई रोक्न निगरानी बढाएको छ । भारतबाट मतदान गर्न भित्रिने नेपाली नागरिकलाई आउन दिइएको छ । सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले संयुक्त गस्ती बढाएका छन् ।
निर्वाचनलाई केन्द्रित गर्दै खौजरी बीओपीअन्तर्गत पर्ने इनरवा, बलहा र महुवाको सडक पूर्ण रुपले बन्द गरिएको सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टले बताए । भारतको मधुवनि जिल्लाको ४१ किलोमिटर सीमा धनुषासँग जोडिएको छ । त्यसैले सुरक्षा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले बताए । 
मदिरामा कडाइ
धनुषामा मदिरा सेवन गर्नेहरुबाट चुनावको वातावरण बिथोलिन नदिन प्रहरीले होटल–पसलहरुमा कडीकडाउ गर्न थालेको छ । मौन अवधि सुरु भएलगत्तै प्रहरी मदिरा नियन्त्रणमा जुटेको हो । स्थानीय प्रशासनले ८ बजेपछि होटल बन्द गर्न सूचना नै जारी गरेको छ । प्रहरीले चुनावलाई केन्द्रित गर्दै होटल र घरेलु मदिरा उत्पादन तथा बिक्री गर्ने स्थानमा छापा मार्ने अभियान चलाएको छ । चुनावमा मदिरा सेवनबाट हुन सक्ने जोखिम मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जिल्ला प्रहरीले जनायो । 
प्रहरीले शनिबार जनकपुर उपमहानगरपालिका, कुवा रामपुरमा घरेलु मदिरा उत्पादन गर्ने एक घरमा छापा मारेको छ । प्रहरीले मदिरा राख्ने भाँडामा यूरिया मलसमेत बरामद गरेको छ । फोहर तथा दुर्गन्धित अनि किरैकिरा भएको भाडामा रक्सीजन्य पदार्थ भेटिएको हो । कुवा रामपुर बजारमा बर्षौंदेखि अवैध घरेलु मदिरा बनाइँदै आएको जानकारी पाएर छापा मारेको प्रहरी नायव निरीक्षक किस्मत भण्डारीले बताए ।
चुनावी सुरक्षामा खटिएको प्रहरीको विशेष टोलीले उपमहानगरसहित अन्य क्षेत्रमा पनि कडाइ गरेको छ । पूर्व-पश्चिम राजमार्गको छेउ धारापानी, पुष्पवलपुर, गणेशमान चारनाथ नगरपालिकाकाका केही वडा निगरानी बढाइएको छ । जिल्ला प्रहरीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी दर्ता भएयता ३ हजार ५ सय लिटर अवैध मद्दिरा नष्ट गरिसकेको छ । कान्तिपुरमा समाचार छ ।