प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख

 प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने बताएका छन् ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सकिएपछि देशले स्थायित्व पाउने उनको भनाइ छ ।
शनिबार खोटाङको बराहपोखरी गाउँपालिका- २ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका-१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोसीमा मोटरेवल पक्कीपुलको शिलान्यास गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले पुल निर्माण भएपछि खोटाङ र उदयपुरको विकासको ढोका खोलिने बताए ।
पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक विकासले गति लिनेछ । समयमा पुल निर्माणका लागि सबैले खबरदारी गरौं । म आफैंपनि यसमा लागि पर्नेछु- उनले भने ।
सो अवसरमा प्रधानमन्त्री देउवासहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरवहादुर बलायर, नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालगायतको उपस्थिति रहेको थियो ।
२२ करोड ५ लाख रुपैयाँको लागतमा २०० मिटर लम्बाई र साढे १० मिटर चौडाईको पक्कीपुल धाप्लाङघाटमा निर्माण गर्न लागिएको हो ।
४०/४० मिटरमा पाँचओटा पिलर रहने पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले लिएको छ । २०७३ असोजमा सम्झौता भएको सो पुल २०७६ असारभित्रमा पूरा गर्नेगरी स्वच्छन्दले जिम्मा लिएको हो ।
धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनेको भएपनि हालसम्म पक्कीपुल नहुँदा झोलुंगेपुलको प्रयोग हुँदै आएको छ ।
मोटरेवल पुल बनेपछि खोटाङको दक्षिणी क्षेत्रका २२ वडा तथा भोजपुरका केही वडाका स्थानीयलाई तराई जाने र आउने छोटो र सीधा बाटो खुल्ने खोटाङका सांसद विशाल भट्टराईले बताए ।
धाप्लाङघाटबाहेक दूधकोसीको जयराम, सुनकोसीको फोक्सिङटारमा मोटरेवल पुल निर्माणाधीन अवस्थामा छ ।
जयरामको पुल ढलानका लागि फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको छ भने फोक्सिङटारको पुलको जग खन्ने काम भइरहेको छ । इमेजखबरमा समाचार छ ।