दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक/च्याङ्ग्रा ओराल्न थालेका छन् ।
बेनी-जोमसोम सडकको कागबेनीमा सोह्र श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्न उकालिएका तिर्थयात्री र दशैं बजार लक्षित गरी हिमाली गाउँबाट तल झारिएका च्याङ्ग्राको बथानले बेनी-जोमसोम सडकको रौनक नै फेरिएको छ । कान्तिपुरमा समाचार छ ।
दशैंकालागी व्यापारीहरुले मुस्ताङबाट पहिलो खेप च्याङग्रा ओराल्न थालेका हुन् । मुस्ताङी च्याङ्ग्रालाई व्यापारीहरुले हिँडाएर बेनी ल्याई ट्रकमा राखेर पोखरा, काठमाडौं लगायतका सहरी क्षेत्रमा लैजान थालेका हुन् । केही व्यापारीले भने पोखरे-घोडेपानी-विरेठाँटी हुँदै हिँडाएरै पोखरा तर्फ लगेका छन् ।
मुस्ताङी, डोल्पाली र तिब्बती व्यापारीहरुले भने चीनको तिब्बत, डोल्पाको छर्काबोट तथा मुस्ताङका विभिन्न बस्तीबाट च्याङ्ग्रा, चेलुक ल्याउने गर्छन् । पहिलो खेपमा आएका चेलुक/ च्याङ्ग्राको अहिले बजारमा रोजाको २५ हजारदेखी ३२ हजारसम्म मुल्य तोकिएका छन् ।
यस वर्षको दशैंकालागी मुस्ताङबाट झण्डै २५ हजार चेलुक/च्याङ्ग्रा आउने पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ । खाद्य संस्थानले पनि पहिलो पटक मुस्ताङबाट २ हजार चेलुक/च्याङ्ग्रा काठमाडौं लैजाने भएको छ ।
कृषकले सोह्र श्राद्धको तिथीदेखी नै मुस्ताङका घमि, चराङ, लोमान्थाङ, छोसेर डोल्पाको छर्काभोट तथा तिब्बति क्षेत्रबाट चेलुक/च्याङ्ग्रा ल्याई जोमसोममा खसी बजार चलाउने गर्छन् । केही कृषकले आफै बजारसम्म ल्याउने गर्छन् ।
अहिले मुस्ताङमै चेलुक/च्याङ्ग्राको मुल्य बढेको छ । शुरुमा ल्याउन सके छिटो विक्रि हुने आशमा ३ सयवटा ल्याएका छौं, ट्रकमा राखेर पोखरा लैजान लागेका व्यापारी आनन्द क्षत्रीले भने, मुस्ताङको जोमसोममा लाग्ने चेलुक/च्याङ्ग्रा बजारबाट सबै व्यापारीले खरिद गरी तल हिँडाएका छन् ।
मुस्ताङको च्याङ्ग्राको तराई क्षेत्रमा समेत माग बढेपछि यहाँको बजारमा मासुको मुल्य आकाशिएको छ । दशैंमा पशु बली चडाउने परम्पराले चेलुक/च्याङ्ग्राको ब्यापार फस्टाएको छ ।
पशु सेवा कार्यालय मुस्ताङको अभिलेख अनुसार गत वर्ष कृषकले १३ हजार चेलुक र ८ हजार च्याङ्ग्रा विक्रि गरी २७ करोड नगद भित्राएका थिए ।