शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट बर्खास्त गरेको छ । शर्मालाई आइतबारबाटै लागू हुने गरी मन्त्रीस्तरीय निर्णयबाट बर्खास्त गरिएको हो ।
साझा प्रकाशनको संचालक समितिको सदस्यता अन्त्य गरी अध्यक्ष र महाप्रबन्धकबाट पदमुक्त गरिएको छ, मन्त्रालयको निर्णयमा भनिएको छ । शर्मालाई यसअघि दुई पटक स्पष्टीकरण सोधिएको थियो ।
तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ सालमा शर्मालाई महाप्रबन्धक नियुक्त गरेकी थिइन् । त्यसपछि पूर्वमन्त्री धनीराम पौडेलले शर्माको पदावधि दोहोर्याएका थिए । शर्माले साझामा अनियमितता गरेको सञ्चार माध्यममा आएपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।
समितिले दिएको प्रतिवेदनमा टेन्डर नगरी सिधै कागज खरिद गर्ने गरिएको, सरकारसँग ३० करोड रूपैया ऋण लिएर हटाएका कर्मचारीको ठाउँमा सञ्चालक समितिका आफन्तलाई करारमा नियुक्त गरिएको, पुस्तक छपाइपछि स्टोरमा दाखिला प्रमाणित नगरिएको, मेसिन बिग्रिएको भन्दै बाहिरका प्रेसमा पुस्तक छपाएको उल्लेख छ ।
यही प्रतिवेदनका आधारमा मन्त्रालयले शर्मामाथि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझदो नभएको भन्दै मन्त्रालयले बर्खास्त गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि अनियमितता आरोपमा छानबिन गरिरहेको छ । मन्त्रालयको छानविन प्रतिवेदन आयोगले लगिसकेको शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।