कांग्रेसलगायतका दलहरु लोकतान्त्रिक गठबन्धन बनाउनेतर्फ अग्रसर

दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच चुनावी तालमेल र पार्टी एकीकरणको सहमति भएपछि नेपाली कांग्रेसलगायतका दलहरु पनि लोकतान्त्रिक गठबन्धन बनाउनेतर्फ अग्रसर भएका छन् ।
नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ ।
बुधबार साँझ बालुवाटारमा बसेको ती दलहरुको बैठकले गठबन्धनको कार्यविधि तय गर्न सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।
समितिमा कांग्रेसबाट दुईजना तथा अरु दलहरुबाट एक-एकजना रहने जनाइएको छ ।
यसअघि, बुधबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबाहेकका पार्टीहरुसँग गठबन्धन गर्ने निर्णय गरेको थियो ।
कांग्रेस बैठकलगत्तै अरु दलहरुका नेताहरुलाई बालुवाटारमा डाकिएको थियो । इमेजखबरमा समाचार छ ।