अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीको भर्ना सुरु भएको छ ।
मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।
उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।