प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित भएका छन् ।
यसैक्रममा बिहीबार दिपायलमा र्यालीसहित कोणसभाको आयोजना गरिएको छ ।
कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।
सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ- उनले भने ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।
सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।
सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो-कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने- अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।
दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।
यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।
नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन
भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् । इमेजखबरमा समाचार छ ।