डोटीको बडीकेदार गाउँपालिका-२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बसमा सवार अरु २१ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ ।
मृत्यु हुनेमा बडीकेदार गाउँपालिका-४ भुजालीका ४५ वर्षीय जगदीश चन्द, बडीकेदार गाउँपालिका-४ रोलकी ३५ वर्षीया मीना पुनमगर र बडीकेदार गाउँपालिका-४ पुन्ताराकी साढे तीन वर्षीया बालिका पुष्पा जेठारा रहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
डोटीको बर्छेनबाट धनगढी तर्फजाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस बिहीबार बिहान पौने १० बजेतिर दुर्घटना भएको हो ।
साँघुरो कच्चीसडकमा तीव्रगतिमा रहेको बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बसचालक प्रकाश सिंह भने फरार छन् । इमेजखबरमा समाचार छ ।