प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न

पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्णरूपमा भएको छ ।
उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानाका साथै उम्मेदवारी दर्ता गर्नेक्रम सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आइतबार उम्मेदवारी दर्ता भएको हो ।  मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चलेको थियो । 
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारका हकमा आधिकारिक हस्ताक्षरसहितको औपचारिकपत्र बुझाउनुपर्नेछ ।
मनोनयनपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेस गर्नुपर्छ ।
धरौटी रकमका हकमा प्रतिनिधिसभा सदस्यका लागि रू १० हजार र प्रदेशसभा सदस्यका लागि रू पाँच हजार निर्धारण गरिएको छ ।
महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारका हकका धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ ।
एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागिमात्र उम्मेदवारी दिन सक्नेछ ।
एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।
आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम छ । रासस