तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको प्रमुख निर्वाचन आयुक्तको प्रस्ट

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको प्रस्ट गरेका छन् ।
सुरक्षा निकायका लागि आयोगले आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन गराउन प्रधानमन्त्री पनि प्रतिबद्ध रहेको बताए ।
निर्वाचनको वातावरण अस्थिर बनाउन केही तत्व लागेको भन्दै उनले यसतर्फ सचेत रहन सबैलाई आह्वान गरे ।
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्व राज्यका सुरक्षा निकायको भएकाले सबै सुरक्षा निकायलाई इमान्दार भएर जिम्मेवारी पूरा गर्न उनले आग्रह गरे ।
उनले निर्वाचन सम्पन्न गर्न कुनै अन्योल नरहेको र आयोग आत्मविश्वासका साथ लागिपरेको उल्लेख गरे ।
कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन भयरहितरुपले सम्पन्न गर्न गृह मन्त्रालयले सबै संयन्त्र परिचालन गरेको बताए ।
मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीसहित २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारी उनले दिए ।
निर्वाचनको नतिजा घोषणा नहुँदासम्म गृह मन्त्रालयले सुरक्षाको उच्च व्यवस्था गर्ने गृहसचिव सापकोटाले वचन दिए । इमेजखबरमा समाचार छ ।