आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो

 पहिलो चरणअन्तर्गत् आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य सुरु भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शुक्रबार साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिएका हुन् ।
निरीक्षणपछि सन्चारकर्मीसँग कुरा गर्दै डा. यादवले समानुपातिकतर्फको मतपत्र भने छाप्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
उनले पहिलो चरणअन्तर्गत् ३२ जिल्लामा हुने निर्वाचनका लागि समयमै आवश्यक मतपत्र छाप्ने कार्य सम्पन्न हुने र दोस्रो चरणका लागि कात्तिक १६ गतेको उम्मेदवारी मनोनयनपछि मतपत्र छाप्ने काम सुरु हुने बताए ।
उनले निर्वाचन तोकिएको मितिमा हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण शक्ति लागिपरेको बताए ।
उनले भने- निर्वाचनको मितिका सम्बन्धमा सरकारकोसमेत प्रतिबद्धता आइसकेको छ । सरकारको पूर्ण सहयोग छ, त्यसैले निर्वाचन सर्छ कि भन्ने आशंका व्यक्त गर्नु जरुरी छैन ।
उनले सर्वोच्च अदालतबाट अहिलेसम्म निर्वाचनलाई असर गर्ने कुनै आदेश नआएको जानकारी दिँदै अदालतले गर्ने आदेशलाई आयोगले सधैं उच्च सम्मानका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस