कम्युनिष्ट गठबन्धन राष्ट्रियताविरुद्ध षड्यन्त्र गर्न बनेको प्रधानमन्त्री देउवाको आरोप

 प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धन राष्ट्रियताविरुद्ध षड्यन्त्र गर्न बनेको आरोप लगाएका छन् ।
शनिबार कांग्रेसले पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस सधैं डर-त्रासविरुद्ध उभिने पार्टी भएको बताउँदै कम्युनिष्ट अधिनायकवादको त्रासबाट नेपाललाई मुक्त गरिने उद्घोष गरे ।
कम्युनिष्टहरु साम्यवादी शासन व्यवस्था लाद्न एकजुट भएको भन्दै देउवाले यो सपना पूरा गर्न नदिने दृढता व्यक्त गरे ।
हिजो निरंकुश शासन व्यवस्थाकाविरुद्ध लडेको हो, राणाशासन र राजतन्त्रविरुद्ध लडेको हो, फेरि कम्युनिष्ट शासनको नाममा डर-त्रासको शासनको अभ्यास गर्न खोजिएको छ-उनले भने-यसकाविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्छ र परास्त गर्न रात-दिन नभनी खटिनुपर्छ ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट गठबन्धनले दुई तिहाइ सिट ल्याएर संविधानको मौलिक अधिकार नै परिवर्तन गर्ने उद्घोष गरेकाले त्यसको सबै लोकतन्त्रवादीले प्रतिवाद गर्नुपर्ने बताए ।
आसन्न निर्वाचन लोकतन्त्र र साम्यवादीबीचको लडाइँ भएको भन्दै नेता पौडेलले नेकपा एमाले र माओवादी केन्द्रले लोकतन्त्रको घोडा चढेर अधिकनायकवाद लाद्न खोजेको दाबी गरे ।
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएकाले कांग्रेसकै नेतृत्वमा समृद्धि आउने दाबी पनि उनको थियो ।
यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले विश्वबाटै सकिएका कम्युनिष्टहरुले नेपालमा भने गरिबीलाई मुद्दा बनाउँदै साम्यवादी व्यवस्था लाद्न खोजेको आरोप लगाए ।
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बुलेटलाई आधार बनाएर आएका कम्युनिष्टलाई ब्यालेटको माध्यमबाट ठीक पारिने धारणा राखे ।
कानुनमन्त्री यज्ञबहादुर थापाले भने अबको प्रदेशसभा र प्रतिनिधिसभामा कास्कीका ९ ओटै क्षेत्रमा कांग्रेसले जित्ने दाबी सुनाए ।
कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा र कास्की सभापति कृष्ण केसीलगायतले धारणा राखेका थिए ।
सो अवसरमा अखन्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कासहितका नेता तथा कार्यकर्ता एवं पूर्वसभासद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराइएको थियो ।
उनीहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले टीका र सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् । इमेजखबरमा समाचार छ ।