काठमाडौंमा बढी धुवाँ निकाल्दै हिँड्ने सवारी-साधनमाथि कारबाही सुरु

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी-साधनमाथि कारबाही थालेको छ ।
प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी-साधनलाई कारबाही सुरु गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० ओटा त्यस्ता सवारी-साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको जनाएको छ ।
जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नभएका ८ र बढी धुवाँ फाल्ने १२५ सवारी–साधन छन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौं निर्माणका लागि यस्तो अभियान चालिएको जानकारी दिए ।
‘प्रदूषण जाँच गर्ने निकायले प्रदूषण नै जाँच नगरी स्टिकर दिने प्रचलन बढेको पाइएपछि प्रदूषण जाँचसम्बन्धी अभियान सन्चालन गरेका हौं’–उनले भने ।
महाशाखाले यसअघि ठूलो आवाज निकालेर सन्चालन भएका सवारी–साधनमाथि कारबाही अभियान सन्चालन गरेको थियो । रासस