बागलुङमा चुनावी प्रचारमा हिँडेको नेपाली कांग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका-३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ ।
निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेकाबेला बम प्रहार भएको हो ।
नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ ।
विस्फोटबाट कुनै मानवीय क्षति नभएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।
सोही स्थानमा केही दिनअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेर नस्ट गरेका थिए ।
मंगलबार भएको बम विस्फोटमा संलग्नको पहिचान नभएपनि चन्द समूहले नै गरेको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्नको खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ ।
सोमबार राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङस्थित घरमा पनि बम विस्फोट गराइएको थियो । रासस