सिन्धुपाल्चोकमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतपेटिका सीसी क्यामराको निगरानीमा राखिए

सिन्धुपाल्चोकमा आइतबार सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका सीसी क्यामराको निगरानीमा राखिएको छ ।
दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मंसिर २१ गते साँझ ५ बजेपछिमात्रै मतगणना सुरु हुने भएकाले मतपेटिका सीसी क्यामराको निगरानीमा राखिएको हो ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नवनिर्मित जिल्ला कृषि विकास कार्यलयको भवनमा मतपेटिकाहरु राखिएको छ ।
मतपेटिका राखिएको कोठाको सबै झ्यालहरु बन्द गरिएको छ भने सबै ढोकामा ताला लगाइ ‘सिल’ गरिएको प्रमुख निर्वाचन अधिकृत दीपक खनालले बताए ।
कार्यलयको ‘प्यासेज’मा ढोकाको सिल देखिने गरी सीसी क्यामरा जडान गरिएको र सो क्यामराको दृश्य भवनको मूलढोकाको सिसाबाट सर्वसाधारणलेसमेत देख्ने सकिने जनाइएको छ ।
सो भवनको सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यस्तै, टेन्ट हालेर बाहिर दलीय प्रतिनिधिलाईसमेत बस्ने व्यवस्था मिलाइएको छ ।
२ लाख २६ हजार ५४० मतदाता रहेको सिन्धुपाल्चोकमा २८५ मतदान केन्द्रबाट ७३ हजार ४२८ महिला र ८२ हजार ५८४ पुरुष गरी जम्मा १ लाख ५६ हजार १२ जना मतदातादले आइतबार मतदान गरेका थिए । इमेजखबरमा समाचार छ ।