बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनवटा मतपेटिका विवादका कारण सदरमुकाम ल्याइएन

बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनवटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।
वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ ।
दलका प्रतिनिधिहरुले मतपेटिकासँगै हेलिकोप्टरमा आफूहरु पनि सदरमुकाम चैनपुर जान पाउनुपर्ने भनेपछि विवाद भएको हो ।
तर, नेपाली सेनाले हेलिकोप्टरमा प्रतिनिधिहरुलाई सिट नपुग्ने भनेपछि तीनओटा मतपेटिका उतै छाडेर आएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ध्रुवकुमार भण्डारीले जानकारी दिए ।
उक्त ठाउँबाट सदरमुकाम चैनपुर आइपुग्न पैदलमार्गबाट तीन दिन लाग्छ । अहिलेसम्म त्यहाँका मतपेटिका कसरी ल्याउने भन्नेबारेमा कुनै छलफल नै नभएको जनाइएको छ ।
१६० मतदान केन्द्र रहेको बझाङमा १५९ मतदान केन्द्रका मतपेटिकाहरु भने सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएका छन् ।
१५९ मतदान केन्द्रका ४७७ मतपेटिका जिल्ला पशुसेवा कार्यलयको हलमा सुरक्षित राखिएका छन् भने ती तीनओटा मतपेटिका ल्याउन बाँकी छ ।
मतपेटिका राखिएको स्थानमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उक्त स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन् । इमेजखबरमा समाचार छ ।