जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम आसपास ३ किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सदरमुकामबाट उत्तरतर्फ पुतलीबजार नगरपालिका-१४ नम्बर वडाको लामागे फाँट, दक्षिणतर्फ पुतलीबजार-२ देवीस्थान, पूर्वतर्फ पुतलीबजार-३ बाडखोला पेट्रोलपम्प र पश्चिमतर्फ पुतलीबजार-१ स्थित तीनधारेसम्मलाई निषेधित क्षेत्र घोषण गरेको हो । अर्को आदेश नआएसम्म निषेधित क्षेत्र जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रहरीले माइकिङद्वारा निषेधित क्षेत्र घोषण गरेको जानकारी गराएको थियो । शुक्रबार दिउँसो वाम गठबन्धनद्वारा भएको आन्दोलनमा ढुंगामुडा प्रहार भएसँगै प्रहरीद्वारा लाठी चार्ज भएको थियो ।
क्षेत्र नम्बर दुईको प्रतिनिधिसभा उम्मेदवार पदमा अर्यालमाथि भएको दुव्यवहार र क्षेत्र नम्बर २ मा नै कांग्रेसद्वारा भएको बुथ कव्जाको विषयलाई लिएर वाम गठबन्धनले आन्दोलन गरेको थियो । आन्दोलनमा क्षेत्र नम्बर दुईका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठ माथी पनि हातपात भएको जनाएको छ । क्षेत्र नम्बर दुई निर्वाचन अधिकृतको कार्यालयका अनुसार वाम गठबन्धनले आन्दोलन गरिरहेको बेला सिधै अधिकृतमाथि हातपात गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी महेश आचार्यका अनुसार जिल्ला सुरक्षा समितिले अर्को आदेश जारी नगरेसम्म निषेधित क्षेत्र घोषण भइरहने छ । आफ्नो सरक्षाको मात्र जिम्मेवारी भएकाले मतगणनाबारे जानकारी नभएको उनले बताए ।
निषेधित क्षेत्र घोषणको बेला ५ जना भन्दा बढी समूहमा मानिस आवतजावत गर्न पाउने छैनन् । आफ्नो दैनिक कार्य भने गर्न पाउनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित तरिकारले मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार मतगण कहिले हुन्छ भन्ने एकिन भएको छैन । शनिबार छलफल पश्चात निस्किने निकर्षलाई मध्यनजर गर्दै वातावरण शान्त भएपछि मतगणना थालिने उनले बताए । कान्तिपुरमा समाचार छ ।