कपिलवस्तुको बुद्धभूमि कुन्र्दे खोलामा बस दुर्घटना हुँदा १० जना घाइते

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर-२ कुन्र्दे खोला नजिक बिहीबार साँझ बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिंघेले जनाएको छ ।
घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्‍याएका छन् । साधारण घाइते तीनजनाको स्थानीय बुद्धपोली क्लिनिक र थप सात गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस