यस्तो छ राजधानी बाहिरको पहिलो रुपन्देहीको पाँचतारे होटल(फोटो फिचर)

कृष्ण खनाल
रुपन्देही ।  रुपन्देहीको कोटिहवामा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको छ । 
हङकङको सिल्भर हेरिटेज गु्रपको ५ अर्ब २० करोड लागतमा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको फूलफेज सञ्चालन भने अझै दुई महिना लाग्नेछ । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ विघा क्षेत्रफलमा बनेको रिसोर्ट काठमाडौं बाहिरको सबैभन्दा ठूलो लगानी भएको संरचना हो ।
यस रिसोर्टमा ४ सय कोठाहरु हुनेछन्। हङकङ बेस सिल्भर कम्पनी अष्ट्रेलियाको सेयर बजारमा सूचिकृत कम्पनी हो। यसकै लगानीमा बनेको यस रिसोर्टमा करिब दुई महिनाअघिदेखि २४ घण्टे रेष्टुरेन्ट सञ्चालनमा छन् । ‘हामी २४ घण्टे रेष्टुरेन्ट सेवासहित सञ्चालनमा आएका छौं, लगानीकर्तामध्येका एक नवराज बजगाईले भने-दुई महिनाभित्र फूल फेजमा सञ्चालन हुनेछ।’ हाल एक सय ५० कोठा सञ्चालनमा रहेका छन् । 
टाइगर प्यालेसमा क्यासिनो समेत सञ्चालन हुनेछ । यो प्रविधिका हिसाबले दक्षिण एसियाकै ठूलो क्यासिनो रहेको लगानीकर्ताको दावी छ ।  टाइगर रिसोर्टले २२ सय जनालाई रोजगारी दिएको छ। 
स्थानीय बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइएको बजगाईले बताए। कोटिहवाको रिसोर्ट आसपासलाई पर्यटन विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने दीर्घकालीन योजना समेत राखिएको छ। रिसोर्टले रोजगारी सिर्जना गरेपछि स्थानीयहरु उत्साहित बनेका छन् ।