खुल्ला भलिवलको उपाधि मणिमुकुन्दलाई विजेतालाई ट्रफिसहित १ लाख २५ हजार नगद पुरस्कार
कृष्ण खनाल
बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ६ गतेदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७४ मा सञ्चालन गरिएको प्रथम आरसिआई खुल्ला लिग भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिवल क्लब ए ले हात पारेको छ । प्रतियागिता अन्तरगत शुक्रवार बुटवल मण्डपमा भएको फाइनलमा मणिमुकुन्दले लाफा निलो, बुटवललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै विजेता मणिमुकुन्दले १ लाख २५ हजार नगदसहित ट्रफि हात पारेको छ ।
फाइनलमा मणिमुकुन्दले लाफालाई २२–२५, २५–१७, २५–१४, २५–२० ले पराजित गरेको हो । खेलको पहिलो सेट प्रतिष्पर्धामा लाफाले जितेको थियो तर त्यसपछिका ३ सेट मणिमुकुन्दले लगातार जित्यो । पहिलो सेटमा दुबै टिमवीचको प्रतिष्पर्धात्मक खेलले अन्य सेट पनि रोमाञ्चक हुने आशा दर्शकहरुले गरेका थिए तर त्यसो हुन सकेन । मणिमुकुन्दले लाफालाई पछिल्ला सेटमा कुनै पनि समयमा हावी हुन दिएन । उपविजेता लाफाले ६६ हजार ६ सय ६६ रुपैया नगद र उपाधि पाएको छ ।
यसैगरि प्रतियोगिता अन्तरगत तेस्रो उपाधिका लागि भएको खेलमा स्याङ्जा भलिवल संघ विजयी बन्न पुग्यो । स्याङ्जाले व्रेभ गोर्खा बुटवललाई ३–२ को सेटमा हराउदै तेस्रो उपाधि चुमेको हो । स्याङ्जाले व्रेभलाई २५–२१, २०–२५, २२–२५, २५–१२ र १५–५ ले पराजित गरेको हो । तेस्रो भएको स्याङ्जाले नगद ३३ हजार ३ सय ३३ रुपन्देही सहित कप प्राप्त गरेको छ । सान्त्वनाका रुपमा व्रेभले १५ हजार ५ सय ५५ रुपैया नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा वेस्ट स्पाइकर स्याङ्जाका ओमकार थापा, वेस्ट बल्कर लाफाका रामनारायण महतो, वेस्ट सर्भर मणिमुकुन्द ए का महेन्द्र चौधरी, वेस्ट सेटर लाफाका भरत थापा, वेस्ट डिफेन्डर मणिमुकुन्दका सेरन्द्र गुरुङ, वेस्ट कोच मणिमुकुन्दका नविन क्षेत्री र बेस्ट प्लेयर मणिमुकुन्द कै प्रताप खवास भएका छन् ।
विजयी टिम र खेलाडीहरुलाई पुरस्कार तथा ट्रफि समापन कार्यक्रमका प्रमुख अतिथि रुपन्देही प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले वितरण गर्नु भयो । समापन कार्यक्रम जिल्ला भलिवल संघका अध्यक्ष योग गुरुङ्को अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत भलिवल संयोजक हिरामणि भट्टराईले गर्नु भएको थियो भने भलिवल संघका सचिव किशोर रानाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा प्रदर्शनी मुल आयोजक समितिका संयोजक दिनेशराज रेग्मी र प्रमुख अतिथि रुपन्देही प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठ बोल्दै खेल क्षेत्रलाइृ प्राथमिता दिएर प्रतियोगिता आयोजना गरेको धारणा राख्दै खेल विकासमा सबै क्षेत्र लाग्नु पर्ने बताउनु भयो ।

पुष १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा शुक्रवार मात्र ४५ हजार दर्शकले अवलोकन गरेको सचिवालयले जनाएको छ । प्रदर्शनी समापन हुने दिन नजिकिदै जान थाले पछि उपभोक्ताहरुको चाप बढ्नुकासाथै प्रदर्शनीमा आर्थिक कारोवार ह्वातै बढेको छ । प्रदर्शनीमा शुक्रवार मात्रै १ करोडको कारोवार भएको अनुमान गरिएको छ । प्रदर्शनीमा विभिन्न प्रकृतिका उत्पादनहरुको १२ वटा छुट्टाछुटै विभिन्न प्रकृतिका पेभेलियन बनाएर प्रदर्शनी अवलोकन गर्न आउने उपभोक्ताहरुले उत्पादनहरु किन्न र अवलोकन गर्ने सुविधा प्रदान गरिएको छ ।
प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता, आरसिआई ट्यालेन्ट हन्ट तथा प्रदर्शनी आइडल कार्यक्रमका सहभागीहरुको प्रस्तुती एवं छनौट प्रक्रिया भएको संयोजक राजेन्द्र कार्कीले बताउनु भयो । दोहोरी गित प्रतियोगिता अन्तरगत शुक्रवार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, रुपन्देही र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, स्याङ्जा ख वीच भिड्न्त भएकोमा स्याङ्जा ख विजयी भएको छ । शनिवार दोहोरीको तेस्रो पुरस्कारका लागि बुलबुल मिडिया प्रा.ली., बुटवल र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान, रुपन्देही वीच प्रतिष्पर्धा हुने छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शुक्रवार चर्चित गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, दोहोरी गायक चन्द्र शर्मा, दोहोरी गायिका शान्तिश्री परियार, नारायण विसी, हास्य कलाकार उज्जवल गिरी, दोहोरी गायिका रेनुका भट्टराई, डान्सर द्वय अमृता अधिकारी र सविता भुसाल लगायतले आफ्ना प्रस्तुति राखेका थिए । त्यसैगरि शुक्रवार अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा एपेक्स स्कुल प्रथम, द्वितिय प्यारामाउण्ट र क्यानन स्कुल तृतिय भएका थिए ।
ज्याकोर प्रदर्शनी आइडल–२०७४ प्रतियोगिता अन्तरगत शुक्रवार अन्तिम टप ५ गायकको प्रस्तुति भएको छ । जसमा एलिना पुन, निरज थापा, शुशिल आर्चाय, आकाश झा र अभिषेक विक रहेका छन् ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार चर्चित गायक खुमन अधिकारी, गायिका राधिका हमाल, दोहोरी गायक दिपक गरौजा, गायिका प्रिया भण्डारी, गायक तथा संगितकार विधान कार्की, एक खुट्टे डान्सर रोमा न्यौपाने लगायतको प्रस्तुती रहने छ ।
उद्योग संघले उपत्यका बाहिर पहिलो पटक २०४५ सालमा बुटवलमा प्रदर्शनीको आयोजना गरेको हो । जारी प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारिकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, आकर्षक रेष्टुरेन्टहरू र कृषि ग्राम सञ्चालन भएका छन् । प्रदर्शनीको करिव ६ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अनुमान गरिएको छ ।
आज शनिवार सार्वजनिक विदा भएका दर्शकहरुको चाप बढ्ने अनुमानसहित आयोजकको तर्फबाट सुरक्षा व्यवस्था, टिकट विक्रि तथा अन्य व्यवस्थापनलाई प्राथमिकता दिएको मुल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले बताउनु भयो । उहाले भोली आउने दर्शकहरुलाई कुनै असुविधा हुन नदिने विश्वास पनि व्यक्त गर्नु भयो । दर्शकहरुको भिडलाई मध्येनजर गदै टिकट काउण्टर बाहेक गेट बाहिर विभिन्न ७ स्थानबाट टिकट विक्रि गरिने प्रदर्शनी प्रबन्धक यादव भण्डारीले बताउनु भएको छ ।