निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा प्रचारप्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्रीहरु तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको छ ।
निर्वाचन सकिएको लामो समय हुँदा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएको भन्दै आयोगले आइतबार यस्तो निर्देशन दिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गत मंसिर १० र २१ गते भएको थियो ।
आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दल तथा उम्मेदवाहरुले निर्वाचन प्रचारको क्रममा केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्री हटाउन सम्बन्धित दलहरुलाई पत्राचारसमेत गर्ने निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।