अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लाको शीतगंगा नगर-११ को दुर्गम बस्ती सिद्धारा मौवाबारीका महिलाले खसी र बोका बिक्री गरेर घरखर्च देखि छोराछोरीको पढाई खर्च जुटाएका छन् ।
गाउँका महिला मिलेर मौवाबारी स्वाबलम्बी महिला समूह गठन गरी व्यावसायीक बाख्रापालनमा सक्रिय छन् । मौवाबारीकी शीला घर्तीले स्थानीय जातको बाख्रालाई बोयर जातको विर्यबाट जुम्ल्याहा पाठापाठी जन्मिने र तौल दोब्बर हुने गर्छ ।
हेफर इन्टरनेशनलको सहयोगमा प्रकाश सचेतन समुह (प्राग) को बाख्रा विकास परियोजना कार्यक्रमले आधुनिक खोर, खसी बोकाको तौल बढाउन आहार, औषधि उपचार र स्याहार सुसारको बारेमा प्रशक्षिण र तरिका सिकाएपछि शीलालाई थप उर्जा थपियो ।
जंगलमा जडिबुटी खाएको खसी बोका भनेर व्यापारी कपिलवस्तु र बुटवलबाट गाउँमै खरिद गर्न आउने समूहकी अध्यक्ष तारा भट्टराइले बताइन । पाठी, बोका र खसी बिक्रीबाट वर्षमा ५०/६० हजार आम्दानी भएको उनले बताइन ।
समुहमा २१ जना महिला आबद्ध छन् । सबै महिला स्वरोजगार उन्मुख छन । अहिले घरखर्चको लागि ऋण खोज्न साहुकोमा कोही नजाने उनले बताइन ।