दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन पनि जारी रहने छ । दाङमा प्रदेश प्रहरी कार्यालय, उच्च अदालत आदि स्थापना भइसकेको पछिल्लो समयमा अन्यत्रै मुकाम तोक्ने तयारी गरिएको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेका हुन् ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिले मंगलबार दिउँसो २ बजे देखि ४ बजेसम्म बजार बन्द गराएका थिए । बुधबारदेखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ ।
दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा दाङका सम्पुर्ण गतिविधिहरु बन्द हुने भएका छन् ।
दाङको भालुवाङ, लमही, घोराही, नारायणपुर, बिजौरी र तुलसीपुरमा स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बुधबारदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिए ।
जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगायतका सम्पुर्ण गतिविधि बन्द गरिने उनले जानकारी दिए । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ खण्ड पुरै ठप्प पारिने भएको छ । दाङलाई राजधानी नतोकिएसम्म बन्द नखोलिने बताइएको छ ।
साथै बुधबार बिहान ८ बजे घोराहीमा विशाल जनप्रदर्शनको आयोजना गरिएको छ ।
सरकारको निर्णयप्रति असहमति जनाउँदै विरोध प्रदर्शनका लागि स्थानीयहरु सडकमा उत्रिएका छन् । इमेजखबरमा समाचार छ ।