सर्वोच्चद्दारा पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न अन्तरिम आदेश

सर्वोच्च अदालतले पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णयलाई हाललाई अर्को आदेश नहुँदासम्म यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।
उनकाअनुसार अदालतले यही माघ २८ गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको यही माघ ११ गते बसेको बैठकले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरगंगा वडा नम्बर–१२ गोलखाँडा सार्ने निर्णय गरेको थियो ।
अधिवक्ता गणेश हमालले सरकारको सो निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदकका तर्फबाट कानुन व्यवसायी सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोपालदत्त पाण्डेलगायतले बहस गरेका थिए । रासस