पोखरामा प्रदेश नम्बर–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सम्पन्न
माघ २२ गते, २०७४ मा प्रकाशित
प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नम्बर–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सोमबार सम्पन्न भएको छ ।
पोखरामा सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश नम्बर–४ लाई समृद्ध प्रदेश बनाउने बाचा गरेका छन् ।
वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचाअनुसार स्थायी सरकार दिने बताएका छन् । सभामा ठूला तीन दलका तीन/तीन तथा साना दलका एक/एकजना सांसदले सम्बोधन गरेका थिए ।
बैठकमा नेपालको संविधानको भावनाअनुरुप यस क्षेत्रको सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधता छर्लंग देखिन्थ्यो ।
नेपाली जनताको ठूलो बलिदानपछि जारी भएको संविधान कार्यान्वयनका सन्दर्भमा अत्यन्त महत्वपूर्ण मानिएको प्रदेशसभाको बैठकमा आउने सम्पूर्ण सदस्य औपचारिक पोसाकमा देखिन्थे ।
अधिकांश दौरा–सुरुवालमा सजिएका थिए भने कोही जातीय संस्कृति झल्काउने पोसाकमा थिए ।
बिहान ११ बजेर २ मिनेटमा जनाउ घन्टी बज्नुअगावै सदस्यहरु बैठकस्थलमा प्रवेश गरिसकेका थिए ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश सांसद पृथ्वी सुब्बा गुरुङले कोरला र सुस्ता नाका भएको प्रदेश–४ लाई समृद्ध प्रदेश बनाउने बाचा गरे ।
मुख्यमन्त्रीका दाबेदारसमेत रहेका गुरुङले वाम गठबन्धनले जनचाहना र बाचाअनुसार स्थायी सरकार दिने दाबी गरे ।
मुख्यमन्त्रीकै अर्का दाबेदार एमालेकै सांसद किरण गुरुङले दल सानो–ठूलो भएपनि प्रतिस्पर्धी नभइ यो प्रदेशलाई कसरी समृद्ध बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।
कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले प्रदेश–४ सँग आर्थिक समृृद्धिको सम्भावना रहेको भन्दै यसलाई बढावा दिनुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसकाविरुद्ध एक भएर लड्ने बताए ।
राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले भने संघीयताको विरोध गरे ।
बैठकमा बोल्ने अधिकांश सदस्यले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण गर्न र यस प्रदेशलाई पर्यटन, जलस्रोत र शैक्षिक हब बनाउन जोड दिएका थिए ।
प्रदेश सभामा ३० जना खसआर्य, २५ जना आदिवासी जनजाति, तीनजना दलित र एकजना अल्पसंख्यक छन् । सभामा ४० पुरुष र २० जना महिला रहेका छन् ।
यस प्रदेशको भूगोल हिमालपारिको जिल्लादेखि तराईको सुस्तासम्म फैलिएको छ । यस प्रदेशमा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र मनाङ गरी ११ ओटा जिल्ला रहेका छन् ।
यहाँको प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्ति पार्टीका दुई र स्वतन्त्र एकजना सांसदको प्रतिनिधित्व छ ।
प्रदेश–४ प्रदेशसभाको सभामुख चयनका लागि आगामी फागुन ३ गते निर्वाचन हुने बैठकले तय गरेको छ । इमेजखबरमा समाचार छ ।