प्रदेश नम्बर ५ को सभामुख निर्वाचन फागुन २ गते हुने

कृष्ण खनाल
बुटवल, २१ माघ । प्रदेश नम्बर ५ को ऐतिहासिक प्रथम बैठक सकिएको छ । बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आयोजना  भएको प्रदेश सभा निर्धारित समयमा नै सकिएको हो । सभाले तिन वटा विभिन्न निर्णय गरेको छ ।
 बैठकले संसदीय कार्यविधि, सभाध्यक्षको समिति र सभामुख चयनको मिति तोकेको छ । सभामुखको निर्वाचन फागुन २ गतेलाई तोकेको छ । रुपन्देहीका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका छन् । प्रदेश ५ को बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाले पठाएको पत्र पढेर सुनाएकाथिए । 
८७ जना सांसाद रहेको प्रदेश सभाको पहिलो बैठकमा ८६ जना सांसाद उपस्थित थिए भने एक जना सांसाद विरामी भएको कारण भारतमा उपचार रत रहेकी छिन् । बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गरेका थिए । प्रदेश नं. ५ को मुख्यमन्त्रीका एक्ला दाबेदार एमाले नेता शंकर पोखरेले यस प्रदेशलाई देशकै सबैभन्दा समृद्ध बनाउन सकिने बताएका छन् । प्रदेश नं. ५ को पहिलो संसद बैठक बैठकमा बोल्दै एमालेका संसदीय दलका नेता पोखरेलले संसदको पहिलो बैठकमा प्रदेश पाँच पर्यटकीयस्थलबाटै विकास हुने बताएका हुन् ।
खप्रदेशको पहिलो बैठकमा उनले पाँच नम्बर प्रदेशको मुख्य १२ वटै पर्यटकीयस्थलको नाम सम्झिँदै प्रदेशको समृद्धि र विकास पर्यटकीयस्थलबाट नै हुने बताए । उनले पाँच नम्बर प्रदेश पुर्ण पर्यटकीयस्थलले भरिएको उल्लेख गर्दै पर्यटकीयस्थलले नै आफ्नो प्रदेश समृद्धिपथमा लम्किने उल्लेख गरे । 
उनले सबैजना एकसाथ अगाडि बढे यस प्रदेशलाई मुलुकमै एक नम्बर प्रदेश बनाउन सक्ने बताए । ‘पाँच नम्बरबाट गरिबी, बेरोजगारी हटाएर प्रदेशलाई समृद्धि बनाउनतर्फ आफुहरु एकसाथ लाग्नुपर्छ’, उनले भने  ।  पोखरेलले अहिलेको समय निकै महत्वपुर्ण भएको बताउँदै प्रदेशको समृद्धि र विकास सँगसँगै लानुपर्ने बताए । पोखरेलले निकै कम समयमा धेरै कानुन पनि निर्माण गर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए । 
बैठकमा माओवादीका कुलप्रसाद शर्मा, कांग्रेसका वीरबहादुर राना, संघीय समाजवादी फोरमा सहश्राम यादव र जनमोर्चा तारा केसी बोलेका थिए ।