कारबाहीमा पर्ने डरले सिमेन्ट उद्योगले थोरै मूल्य घटाए पनि स्टिल उद्योगीहरूले आलटाल गर्दै आएका छन् । विभिन्न बहानामा व्यवसायीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको फेला परेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तत्काल मूल्य घटाउन निर्देशन दिएको थियो ।
उद्योगीहरूले पनि मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धताअनुसार सिमेन्ट उद्योगले थोरै मूल्य घटाए पनि स्टिल उद्योगहरूले घटाएका छैनन् ।
विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार जगदम्बा स्टिलले प्रतिकिलो ५० पैसा घटाए पनि अन्य स्टिल उद्योगले घटाएका छैनन् । ‘बयानका लागि आए पनि मूल्य घटाएका छैनन्,’ उनले भने । विभागका अनुसार अनुगमनको क्रममा स्टिल व्यवसायीले प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढाएको पाइएको थियो । मूल्य घटाउन अटेरी गरेपछि मूल्य बढ्नु र मूल्य नघटाउनुको कारणसहित स्पटीकरण दिन पत्रचार गर्ने निर्णय विभागले गरेको छ ।
‘मूल्य वृद्धिका कारण, कच्चा पदार्थ र डन्डीमा कति प्रतिशत वृद्धि भएको हो । बढेको प्रमाणसहित विभागमा पेस गर्न पत्र तयार गरेका छौं,’ उनले भने, ‘मंगलबार सबै स्टिल उद्योगीलाई पत्राचार गर्छौं ।’ विभागका अनुसार सिमेन्टमा भने अधिकांश व्यवसायीले मूल्य घटाएका छन् । चौतर्फी विरोध र सरकारले अनुगमन तीव्र बनाएपछि व्यवसायीले मूल्य घटाउन थालेका हुन् । उत्पादन लागत, क्लिंकर आयातमा समस्यालगायतको बहानामा व्यवसायीले १५ दिनमै ५ पटक मूल्य बढाएका थिए । एक महिनाको अवधिमा ५ देखि १८ प्रतिशतसम्म मूल्य बढाएको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । प्रतिबोरा १ सय २० रुपैयाँसम्म बढाएको विभागको रेकर्डमा छ । तर, उद्योगीले १० देखि ५० रुपैयाँसम्म मात्रै घटाएका छन् ।
विभागका अनुसार सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्टले प्रतिबोरा १ सय ३ रुपैयाँ बढाएको छ । प्रतिवेदनअनुसार ७ सय ९५ रुपैयाँ पर्ने हेटौंडा सिमेन्ट हाल ८ सय ९८ रुपैयाँ पर्छ । तर, हेटौंडा सिमेन्टले मूल्य घटाएको छैन । मूल्य घटाउन आलटाल गरेपछि हटौंडा सिमेन्टलाई पनि पत्रचार गरेको थियो । तर, विभागको निर्देशनको अटेरी गर्दै आएको महानिर्देशक दाहालले बताए । हेटौंडाले अटेरी गरेपछि मूल्य बढाउनुपर्ने स्पष्ट कारणको जवाफ दिन उद्योग मन्त्रालयमा पत्रचार गरेको जनाएको छ । ‘सरकारी सिमेन्टबाटै जबर्जस्ती भयो । बयानमा आएको छैन,’ दाहालले भने, ‘मूल्य बढाउनुपर्ने कारणसहित उद्योग मन्त्रालयमा पनि पत्र पठाएका छौं ।’
सबैभन्दा बढी बृज सिमेन्टले इन्डस्ट्रिजले घटाएको छ । बृजले ओपीसी, पीएससी र पीपीसीमा प्रतिबोरा ५० रुपैयाँ घटाएको छ । ९ सय रुपैयाँ बिक्री गर्दै आएको ओपीसी ८ सय ५० रुपैयाँ निर्धारण गरेको छ । ७ सय ९० मा बिक्री गर्दै आएको पीपीसी ७ सय ४० रुपैयाँ र ७ सय ८० मा बिक्री गरेको पीएससी ७ सय ३० रुपैयाँ निर्धारण गरेको पत्र विभागमा पेस गरेको छ । अर्घाखाँची सिमेन्टले ४५ रुपैयाँ घटाएको छ । उसले प्रतिबोरा ८ सय ९५ रुपैयाँबाट ८ सय ५० निर्धारण गरेको जनाएको छ ।
भूगर्भ सिमेन्टले ओपीसी र पीपीसी सिमेन्टमा ३० रुपैयाँ घटाएको छ । ८ सय ५० रुपैयाँ पर्ने ओपीसीको मूल्य ८ सय २० र ७ सय ५० पर्ने पीपीसीको मूल्य ७ सय २० निर्धारण गरेको छ । अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ घटाएको छ । अम्बेले प्रतिबोरा ७ सय ६० रुपैयाँ पर्ने सिमेन्ट घटाएर ७ सय ४० रुपैयाँ निर्धारण गरेको छ । नारायणी सिमेन्टले प्रतिबोरा १० रुपैयाँ घटाएको छ । नारायणीले ८ स्य ९० रुपैयाँबाट घटाएर ८ सय ८० रुपैयाँ निर्धारण गरेको पत्र विभागमा पेस गरेको छ । विभागका महानिर्देशक कुमार दाहालले मूल्य घटाउनु सकारात्मक भएको बताए । ‘प्रतिबोरा १० देखि ५० रुपैयाँसम्म घटाउनु भनेको सकारात्मक कुरा हो,’ उनले भने ।
विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २२ रुपैयाँ ६० पैसा घटाएको छ । ९ सय १० रुपैयाँ पर्ने सिमेन्टको मूल्य घटाएर ८ सय ८७ रुपैयाँ ४० पैसा निर्धारण गरेको जनाएको छ । सर्वोत्तम सिमेन्टले पीपीसी र ओपीसीको १० रुपैयाँ घटाएको छ । प्रतिबोरा ८ सय ४५ रुपैयाँ पर्ने ओपीसीको मूल्य ८ सय ३५ रुपैयाँ तोकेको छ । पीपीसी सिमेन्टको मूल्य ७ सय ४५ रुपैयाँबाट घटाएर ७ सय ३५ तोकेको जनाएको छ । निर्माण सिमेन्टले प्रतिबोरा १५ रुपैयाँ घटाएको विभागले जनाएको छ । निर्माणले ७ सय २० रुपैयाँ पर्ने पीपीसी सिमेन्ट घटाएर ७ सय ५ रुपैयाँ निर्धारण गरेको छ ।
दोभानले पनि ओपीसीमा मूल्य घटाएको छ । उसले ८ सय ४० रुपैयाँबाट ८ सय २० रुपैयाँ निर्धारण गरेको विभागमा पत्र पठाएको छ । शुभश्री जगदम्बा सिमेन्ट मिल्सले पनि पीएससी सिमेन्टमा २० रुपैयाँ घटाएको छ । उसले ७ सय ८० रुपैयाँबाट ७ सय ६० रुपैयाँ निर्धारण गरेको विभागले जनाएको छ । ओपीसीमा ९ सयबाट ८ सय ८० रुपैयाँ पुर्याएको छ ।
यस्तै मारुती सिमेन्टले पनि २० रुपैयाँ घटाएको छ । मारुतीले ८ सय ७५ रुपैयाँबाट ८ सय ५५ रुपैयाँ निर्धारण गरेको छ । अग्नि सिमेन्टले १० रुपैयाँ घटाएको जनाएको छ । अग्निले ८ सय ४० रुपैयाँबाट ८ सय ३० रुपैयाँ तोकेको छ । घोराही सिमेन्टले ओपीसी र पिपीसीमा १० रुपैयाँ घटाएको छ । घोराहीले ८ सय ५ पर्ने ओपीसी सिमेन्ट घटाएर ७ सय ९५, ७ सय ५ पर्ने पीपीसी सिमेन्टको मूल्य घटाएर ६ सय ९५ निर्धारण गरेको विभागले जनाएको छ । कान्तिपुरमा समाचार छ ।