नरपानी र सुपामा पर्यटकलाई पूर्वाधार अभाव, घुम्न आउने पर्यटकलाई बस्ने र खानको समस्या

वीरेन्द्र केसी कान्तिपुर
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गरी नरपानी घुम्न रुचाउने पर्यटकलाई बसाउन पूर्वाधार अभाव छ । यहाँ बास बस्न मिल्ने होटलको कमी छ ।
रमणीय स्थल नरपानीमा २०३२ सालसम्म जिल्ला सदरमुकाम थियो । त्यसपछि सदरमुकाम सन्धिखर्क सारियो । सदरमुकाम नरहे पनि नरपानीको आफ्नै महत्त्व छ । तराईमा बसोबास गर्ने, भारतीय नागरिक र पहाडी जिल्लाका धेरैजसोको रोजाइमा नरपानी पर्ने गरेको छ । त्यहाँबाट २ किलोमिटर दूरीमा धार्मिक पर्यटकीयस्थल सुपा देउराली मन्दिर छ ।
मन्दिर दर्शन र नरपानी घुम्न दैनिक एक सयभन्दा बढी पर्यटक आउँछन् । ९५ प्रतिशत आन्तरिक तथा भारतीय पर्यटक एकैछिन घुमेर फर्कने गरेका छन् । महत्त्व र प्रचारप्रसार बढदै जाँदा घुम्न आउनेको संख्या बर्सेनि बढदै गए पनि पर्यटकको बसाइ लम्बिन सकेको छैन ।
Image result for नरपानी arghakhanchi.com
सुपा देउरालीमा बली चढाएर पूजापाठ गरेपछि नरपानी आएरै प्रसाद ग्रहण गर्छन् । केही पर्यटक घुम्नकै लागि आउँछन् । शीतल हुने भएकाले गर्मीको बेला त ओइरै लाग्ने गर्छ ।
अलि पर खाँची दरबार छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको मावली घर खाँचीकोट छ । दरबार हेर्न पनि त्यहाँ जान्छन् । खाँची दरबारबाट सदरमुकामसहित सिंगो जिल्लाको भूगोल देख्न पाइन्छ । गर्मी छल्न तराईबाट आउनेको ताँती नै हुन्छ । ‘मन्दिरमा आएका तीर्थालु नै पर्यटक हुन्,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले भने, ‘मन्दिरको दर्शनपछि बस्ने ठाउँ छैन । बस्नलाई पर्यटकीय संरचना चाहिन्छ, सांसदले पूर्वाधार निर्माणको लागि बजेट पारिदेलान् भन्ने आशा छ ।’
सुपादेउराली मन्दिरको दुवैतर्फका अग्ला टापुमा पुग्ने पैदल मार्ग, दुवै चुचुरालाई जोड्ने केबलकारसहित नरपानीमा होमस्टे हुनुपर्ने उनले बताए । मन्दिरमा आएका तीर्थालु र नरपानी आउने पर्यटकलाई एक दिन भए पनि यस क्षेत्रमा बास बसाल्न सके गाउँमा पर्यटन व्यवसाय फस्टाउने, युवा स्वरोजगार बन्ने उनको धारणा छ । स्थानीयले फाइदा लिन सकेका छैनन् । ‘मन्दिरमा आउँछन्, पूजापाठ गर्छन्, वारिपारि अग्लो पहाड त्यहीँबाट नियालेर तीर्थालु फर्किहाल्छन्,’ उनले भने, ‘भुलाउने संरचना बन्ने हो भने खाना, खाजा यहीँ नै खान्थे र बस्थे ।’ विदेश जानेको संख्या घट्ने उनले बताए ।
Image result for नरपानी arghakhanchi.com
पर्यटकीय पूर्वाधार बनाउन मन्दिरको आम्दानीले मात्रै पुग्दैन । सरकारी स्तरबाट सहयोग आवश्यक छ । चुनावका बेला उम्मेदवार र नेताले पूर्वाधार निर्माण गरिदिने र बजेट पारिदिने आश्वासन सधैं दिन्छन् । ‘व्यवहारमा लागू हुन सकेन,’ नरपानीका पदम केसीले भने, ‘अहिलेसम्म चुनावी मुद्दा मात्रै बने । तर, यसपालिका सांसदले काम गर्लान् भन्ने आशा छ । पर्यटकीय स्थल बनेर पर्यटक भित्रिएपछि गाउँमा स्वरोजगार र आम्दानीको बाटो खुल्थ्यो ।’ अहिले पिकनिक स्पटमा दिनहुँ ताँती हुन्छ ।
‘मन्दिरमा कति तीर्थालु आउँछन्, यकिन तथ्यांक त छैन तर दैनिक तीन/चार सयको हाराहारीमा आउँछन्,’ मन्दिरका सचिव यादवप्रसाद घिमिरेले भने । धेरैजसो दाङ, बर्दिया, रूपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट तीर्थालु आउने उनले बताए । धार्मिक विश्वासले बर्सेनि आउनेको संख्या बढदै गएको उनले बताए । ‘भूगोल नै पर्यटकीय हिसाबले हेर्नलायक छ । पूर्वाधार भए राम्रो गन्तव्यस्थल बन्छ,’ उनले भने ।
दुवैतिर पैदल मार्ग चुचुरोबाट वारिपारि केबलकार र डाँडोमा बस्ने, खाने व्यवस्थासहितका होटल, होमस्टे र रिसोर्टको व्यवस्था पनि छैन । वास्तवमै यहाँका स्थानीयले आएका पर्यटकबाट केही लाभ लिन नसकेको स्थानीय कमला पाण्डेले बताइन् । नरपानीमा मगर बस्ती पनि छ । खाने, बस्ने, पहाड उक्लिने पदयात्रा, गाउँमा घुमाउने, स्थानीय उत्पादन खुवाउन र विभिन्न जातजातिका नृत्य झाँकी देखाउन सकेमा गाउँमै आम्दानी भित्रिन सक्ने थियो । नरपानी जंगल भएकाले यहाँ टिमुर र जडीबुटी पनि छन् ।
Image result for नरपानी arghakhanchi.com
नरपानीदेखि सुपादेउरालीसम्म संरचना बनाएर पर्यटकीय स्थलका रूपमा विकास गर्न आफू लागिपर्ने प्रदेश सांसद चेतनारायण आचार्यले बताए । ‘लुम्बिनी आउने विदेशी पर्यटकलाई पनि भित्र्याउने मेरो योजना छ,’ उनले भने, ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेरै पूर्वाधार बनाउँछु ।
जिल्लाकै पर्यटकीय मेरुदण्ड हो ।’ पर्यटकसम्बन्धी विज्ञ ल्याएर पूर्वाधार कसरी बनाउने भन्ने योजना बनाउनु जरुरी रहेको उनले बताए । तराईमा गर्मीको बेला चिसोमा बस्न धेरै आउने गर्छन् । यहाँ होटल पनि त्यति व्यवस्थित छैनन् । गाउँका घरलाई नै होमस्टे बनाउने, लोकल खानेकुरा खुवाएर नाचगान देखाएर आएका पर्यटकलाई भुलाउने र गाउँको आम्दानी बढाउने काममा योजनाबद्ध ढंगले लाग्ने अर्का प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए । एकैछिन घुम्न आउनेले पनि गाउँमा उत्पादन भएको तरकारी, फलफूल किनेर लैजाने गर्छन् । अझै एक दिन मात्रै बसाल्न सकेमा आम्दानी राम्रो हुने उनले बताए ।
Image result for नरपानी arghakhanchi.com
Image result for नरपानी arghakhanchi.com

अन्य समाचारहरु