रसुवाको १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।
औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४औं बैठकले चीनको हाइड्रो चाइना कर्पोरेसनलाई सो जलविद्युत् उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कम्पनीको प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए । रासस