सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाइरहेका छन्।
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची शनिवार, फागुन ५, २०७४ । सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्डको ट्र्याक खोल्ने काम विवादका कारण तीन वर्षदेखि अड्किएको छ। सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएका छन्।
बागलुङको ढोरपाटनसम्म ट्र्याक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले पूर्णता पाउन सकेको छैन। ०६५ सालमा निर्माण सुरु भएको सडकको ट्र्याक खोल्ने काम सकिएको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाका प्रमुख होमबहादुर एसीले बताए। उनले सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्र्याक खोल्न नसकिएको बताए। विवाद सुल्झाउन पटकपटक छलफल भए पनि सहमति कायम हुन नसक्दा अन्योल बढेको हो।
‘छिटो सहमति गरी ट्र्याक खोल्ने कामलाई पूर्णता दिनुपर्छ’, योजना प्रमुख एसीले भने, ‘लामो समयसम्म विवाद गरिरहनु राम्रो हुँदैन।’ यो सडकले धेरै सम्भावना बोकेकाले यसको महŒव बुझ्नुपर्ने उनले बताए। सन्धिखर्क चुत्रावेसीको मोटरेबल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ। पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेसी बजार गरी दुईवटा विकल्प अघि सारे पनि दुवै ठाउँका स्थानीयले ट्र्याक खोल्न नदिने अडान राख्दै आएका छन्।
सन्धिखर्कमा विवाद कायमै रहे गाउँबाट ट्र्याक खुल्नेछ तर कतिपयले भने विशेष महŒवको यो सडकलाई सदरमुकामबाटै लैजानुपर्ने बताएका छन्। केहीले स्थानीयलाई उठीबास लगाउने खालबाट सडक बिस्तार गर्न नहुने अडान लिएका छन्। यो सडकको लम्बाइ एक सय ८५ किलोमिटर छ। त्यसमध्ये रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर पर्छ।
बाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पुर्याइएको यो सडक पर्यटन प्रबद्र्धनका लागि निर्माण गर्न लागिएको हो। यसले अर्घाखाँचीको पर्यटन प्रवद्र्धनमा निकै महत्व राख्ने देखिन्छ। ढोरपाटन जाने पर्यटक अर्घाखाँची हुँदै बाग्लुङ पुग्नेछन्। सडकले अर्घाखाँचीका ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलको पनि चिनारी दिने जानकारहरू बताउँछन्।
रुपन्देहीको सालझण्डी, अर्घाखाँचीको मैदान, पाली, वांगला, सन्धिखर्क, अर्घा, बागी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुरकोट दह, सिर्सेनी, मदानेको लेख, बागलुङको बुर्तिबाङ, बोबाङ हुँदै ढोरपाटन पुग्ने सडकको धेरैजसो ट्र्याक खुले पनि सन्धिखर्कमा विवाद देखिएको हो।
यस आर्थिक वर्षमा रुपन्देहीको कञ्चन खोलादेखि अर्घाखाँचीको निगाली देउरालीसम्मको ३० किलोमिटर, निगाली देउरालीदेखि अर्घाखाँचीको बलेबाङसम्म २५ किलोमिटर सडक ग्राभेल हुने भएको छ। बलेबाङदेखि अर्घाखाँचीको रतनमारेसम्म ३० किलोमिटर र रतनमारेदेखि गुल्मीको पुरकोटसम्म १५ किलोमिटर गरी चार भागमा सय किलोमिटर मोटरबाटो ग्राभेल कार्य अगाडि बढेको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना प्रमुख एसीले बताए।
सडक ग्राभेल, स्टक्चर र कटिङका लागि चार भागमा बिटी जय बाबा जेबी, तुन्दी बिरुबा शिवशक्ति जेबी, कञ्चनजंघा मोतीराम जेबी र अरनिको बाम्ती जेबी गरी चारवटा निर्माण कम्पनीले झन्डै १७ करोडमा ठेक्का लिएर काम अगाडि बढाइरहेका छन्। एक सय ८५ किलोमिटरमध्ये पाँच किलोमिटर पिच भइसकेको छ। आगामी पाँच वर्षभित्र सबै पिच गरिसक्ने लक्ष्य लिइएको छ।