नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
फाल्गुन ११ गते, २०७४ मा प्रकाशित
नेपाल औषधि लिमिटेडले पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु गरेको छ ।
६ वर्षसम्म बन्द रहि गत वैशाखदेखि पुनः सन्चालनमा ल्याइएको औषधि लिमिटेडले दोस्रो उत्पादन सिटामोल बजारमा ल्याउन थालेको हो ।
१० वर्षे कार्ययोजना लिएर पुनः सन्चालनमा आएको बबरमहलस्थित नेपाल औषधि लिमिटेडले फागुन महिनाभित्र सिटामोल बजारमा पठाउने भएको छ ।
गत वैशाखमा जीवनजलबाट उत्पादन सुरु गरेको कम्पनीले बल्ल आफ्नो दोस्रो उत्पादन ल्याउन लागेको हो । कम्पनीले ८० हजार ट्याबलेट सिटामोलको परीक्षण उत्पादन गरेको छ ।
कम्पनीका महाप्रबन्धक डा. रोभसकुसन सुवेदीले उत्पादन गरिएका सिटामोल परीक्षण गर्ने तयारी गरिसकेको र अब छिट्टै नै बजारमा पठाउने तयारी गरेको बताए ।
कम्पनी सुरु भएको १० महिनामा ६ करोड ४८ लाख रुपैयाँ रकम खर्च भइसकेको छ । नयाँ ८ ओटा मसिन, जीवनजल र सिटामोल उत्पादनमा पैसा खर्च गरिएको कम्पनीले जनाएको छ ।
४८ प्रकारका औषधि उत्पादन गर्ने योजनासहित पुनः सुचारु गरिएको कम्पनीले हाल ट्याबलेटमात्र उत्पादन गर्नसक्छ । झोल औषधि उत्पादनका लागि पूर्वाधार तयार भइनसकेको सुवेदीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा वार्षिक १३ करोड सिटामोल ट्याबलेट खपत हुने गरेको छ ।
औषधि लिमिटेडसँग भने वार्षिक १० करोड ट्याबलेटमात्र उत्पादन गर्ने क्षमता रहेको बताइएको छ । इमेजखबरमा समाचार छ ।