प्रधानमन्त्री ओलीद्दारा मन्त्रिपरिषद विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई/दुईजनालाई सरकारमा सामेल गरेका हुन् ।
एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा–गृह र मातृका यादव–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।
यससँगै मन्त्रिपरिषद सात सदस्यीय बनेका छ । प्रधानमन्त्री ओलीले आफूले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । इमेजखबरमा समाचार छ 
राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ। तर, तत्काललाई मन्त्री बन्न कानुनले रोक्दैन। मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ।
ईश्वर पोखरेल
ईश्वर पोखरेललाई तेस्रोपटक मन्त्री बन्ने अवसर जुरेको छ। पोखरेल प्रधानमन्त्री ओलीपछिको पहिलो वरीयतामा रहनेछन्। यसअघि उनी आपूर्ति र परराष्ट्रमन्त्री भएका थिए। बाबुराम भट्टराई सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका पोखरेल सरकारमा मात्रै दुई सातामात्रै रहे। एमाले महासचिवसमेत रहेका पोखरेल दुइटै संविधानसभामा काठमाडौं– ५ बाट पराजित भएका थिए। गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी कांग्रेसका प्रकाशशरण महतलाई हराउँदै काठमाडौं– ५ बाटै निर्वाचित भएका हुन्। ०५१ सालमा मनमोहन अधिकारी सरकारमा राजनीतिक सल्लाहकार रहेका पोखरेल दुई कार्यकाल एमाले महासचिव निर्वाचित भएका थिए।
रामबहादुर थापा
बादल उपनामले चिनिने रामबहादुर थापा माओवादी केन्द्रका पुराना नेता हुन्। गुल्मीमा जन्मिएका थापा पछि चितवन सरेका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा चितवन– २ बाट निर्वाचित थापा तत्कालिन एमाओवादीका महासचिव थिए। पार्टी विभाजनमा मोहन वैद्यसँगै गएका थापा ०७२ चैतमा पुन: माओवादी फर्किएका हुन्। थापाको दोस्रो सत्तायात्रा हो। ०६५ सालमा तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थापा ९ महिनामै सरकारबाट उत्रिएका थिए। उनी रक्षामन्त्री भएकै बेला तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएपछि प्रधानमन्त्री दाहालले राजीनामा गरेका थिए। गृहमन्त्रीमा पार्टीका नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्माकोसमेत दाबी रहँदा थापाले बाजी मारे। प्रतिनिधिसभामा चितवनबाट टिकटको चाहना राखे पनि सम्भव नभएपछि थापालाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको थियो।
मातृका यादव
जनयुद्धदेखि नै माओवादी आन्दोलनमा सक्रिय मातृका यादव तेस्रोपटक मन्त्री भएका छन्। उनी यसअघि वन मन्त्री भएका थिए। वन मन्त्री छँदा एलडीओलाई शौचालयमा थुनेर उनी चर्चामा आएका थिए। सिरहाका यादव पहिलो संविधानसभामा समानुपातिक सांसद भएका थिए। नारायणकाजी श्रेष्ठसँग तत्कालिन नेकपा माओवादीको एकीकरण भएपछि असन्तुष्ट नेकपा माओवादीलाई पुनर्गठन गरेका यादव पार्टीको नाम फेर्दै ७ वर्षसम्म अलग्गै रहे। दुई वर्षअघि पुन: माओवादी केन्द्रमा फर्किएका यादव गएको प्रतिनिधिसभा निर्वाचनमा धनुषा– १ बाट निर्वाचित भएका थिए।
युवराज खतिवडा
नयाँ सरकारमा सर्वाधिक चर्चित पात्र हुन् युवराज खतिवडा। विगतदेखि नै ओलीका अवैतनिक आर्थिक सल्लाहकार खतिवडालाई अर्थ मन्त्री बनाउन राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। सर्वोच्चको आदेशले उनको शपथ रोकिए पनि अर्थमन्त्री बनाउने ओलीको योजना रोकिएन। पार्टीभित्रका शक्तिशाली नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको दाबीका बीच खतिवडा अर्थमन्त्री बने। प्रधानमन्त्रीको गृहजिल्ला निवासी खतिवडा यसअघि गर्भनर र दुई कार्यकाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।