अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शीतगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले भौगोलिक जटिलताका कारण विकासका काम गर्न कठिनाई भएपनि सम्बृद्ध नगर बनाउन जनप्रतिनिधिहरु लागि परेको बताउनुभएको छ ।
नगरका १४ वटै वडाका टोलबस्तीमा मोटरबाटो, खानेपानी, विद्युत विस्तार, स्वास्थ्य सेवा सहित कृषि, पशुपालन र मसलाबाली उत्पादनबाट नगरवासीलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन योजनाबद्ध ढंगले काम भैरहेको बताउनुभएको छ ।
शीतगंगा नगरपालिकाको बैंठकलाई सम्बोधन गर्दै अधिकारीले वैज्ञानिक ढंगले वन व्यवस्थापन गर्ने, काठ, गिटी, ढुंगा र बालुवा चोरी निकासीलाई रोक्ने कामलाई तीव्रता दिइएको बताउनुभयो । सन्धिखर्क नगरपालिका र शीतगंगा नगरको सीमानामा रहेको धार्मिक पर्यटकीय स्थल सुपादेउरालीमा आएका पर्यटकलाई ठाडा र सीतापुरमा भुल्ने पर्यटकीय संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख टीका रेश्मीले नगरभित्रमा कहाँ के उत्पादन हुन्छ विज्ञद्धारा माटोे परीक्षण गरी बेमौसमी तरकारी, दालचिनी, कागती सहित मसलाबाली खेती उत्पादनलाई प्राथमिकता दिएर काम शुरु भएको बताउनुभयो । पशुपालन, कृषि, वनजंगल र खोलानालालाई व्यवस्थित गर्न योजना बनाइएको दावी गर्दै जनतालाई खुसी पार्ने गरी जनप्रतिनिधिले काम गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले शीतगंगा अथाहा संभावना बोकेको नगर भएको बताउनुभयो । उहा“ले भूगोल अनुसार काम गर्न कर्मचारी जनशक्तिको अभावले छिटो छरितो काम गर्न कठिनाई भएको बताउनुभयो । विकास निर्माण र भावी योजनाबारेको बैठकमा कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, योजना शाखा प्रमुख नुमलाल खनाल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुमा विकास निर्माणकोबारे छलफल भएको थियो ।
वडा नम्बर ९ का अध्यक्ष भीम केसी, ४ का अध्यक्ष दामोदर अधिकारी ३ का अध्यक्ष हेमनाथ भुसाल, ७ का अध्यक्ष मोहन पंथी लगायतले भूगोल अप्ठेरोका कारण एउटै वडा घुम्न १५ दिन लाग्ने भएपनि शिक्षाको गुणस्तर बृद्धि गर्न, कृषिमा व्यावसायीकरण, सिचाई, खानेपानी, पर्यटनको विस्तार, प्राकृतिक स्रोतको उचित व्यवस्थापन सहित समुन्नत नगर बनाउने गरी काम भैरहेको बताउनुभयो ।