त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुग्यो
फाल्गुन २८ गते, २०७४ मा प्रकाशित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।
बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।
उनकाअनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारकाक्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।
८ जनाको सिनामंगलस्थित केएमसी र एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । पाइलटको पनि मृत्यु भएको छ ।
२२ घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जनाको केएमसीमा, चारजनाको नर्भिकमा तथा ग्रान्डी र ॐ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्र रहेको र अरु घाइते अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेका थिए । तीमध्ये ३३ जना यात्री नेपाली रहेका थिए ।
यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको विमानस्थलले जनाएको छ ।
सो विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ पूर्वतर्फको खोंचमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । यद्यपि, विमानको आगो केही बेरमै नियन्त्रणमा लिइएको थियो ।
विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो । इमेजखबरमा समाचार छ ।