युएस बंगला एअरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव पोस्टमार्टम गर्न पाँच दिन लाग्ने
फाल्गुन २९ गते, २०७४ मा प्रकाशित
युएस बंगला एअरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका मृतकहरुको पोस्टमार्टम गर्न थालिएपनि सबै शवको पोस्टमार्टम गर्न पाँच दिन लाग्ने फरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठले जानकारी दिए ।
पोस्टमार्टम गरिएपनि कुनैपनि शवको पहिचान भने हुन सकेको छैन । आफन्तहरुसँग प्रारम्भिक सूचना लिएर शव पहिचान गर्ने र सामान्य अवस्थाबाट पहिचान हुन नसके डीएनए टेस्टसम्म गर्नुपर्ने पनि अस्पतालले जनाएको छ ।
सबै शवको पोस्टमार्टम र पहिचान भएपछिमात्रै आफन्तलाई बुझाइने पनि त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।
मंगलबार साँझसम्ममा ११ ओटा शवकोमात्रै पोस्टमार्टम भएको छ । अधिकांश शव आगोले डढेको अवस्थामा रहेका जनाइएको छ । इमेजखबरमा समाचार छ ।