तलबबाट सामाजिक संघसंस्थालाई सहयोग गर्दै अर्घाखाँचीकी पूर्व स्थानीय विकास अधिकारी गौतम

अर्घाखाँचीकी पूर्व स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेय गौतम

माधव अधिकारी
काठमाडौँ । तत्कालीन जिल्ला विकास समिति, अर्घाखाँचीकी स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेय गौतमले काठमाडौँमा उदाहरणीय कार्य गरी सबैको प्रशंसाको पात्र बनेकी छन् ।
प्रायः सरकारी कर्मचारी अनियमितता गरेरै भएपनि सम्पत्ति जोड्न चाहन्छन् । तलबले नपुगे भ्रष्टाचार गरेर पनि घरघडेरी,ब्यांक ब्यालेन्स जोड्ने उनीहरुको चाहना हुन्छ । भ्रष्ट निजामती कर्मचारीको भीडमा अपवादका रुपमा देखा परेकी छन्,नागार्जुन नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाण्डेय गौतम । उनले आफ्नो तलबबाट राम्रो काम गर्ने सामाजिक संघसंस्थालाई नियमित रुपमा आर्थिक सहयोग गर्दै आएकी छन् । जागिरभन्दा सेवालाई महत्व दिने गौतमको यो कार्य अन्य कर्मचारीका लागि प्रेरक बनेको छ ।
नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मंसिर १६ गते घोषणा भएको काठमाडौँस्थित नागार्जुन नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा लक्ष्मी पाण्डेय गौतम आउनुभन्दा पहिले नगरका लागि आवश्यक न्यूनतम पूर्वाधार पनि थिएनन्।श्रोत साधनको सदुपयोग गरी नगरलाई समृद्ध बनाउनेतर्फ खासै काम हुन सकेको थिएन । नगरपालिका नै महानगरमा गाभिने हल्ला समेत चलेको थियो त्यतिबेला । जनप्रतिनिधिविहीन अवस्थामा उनले नगर प्रमुख समेतको जिम्मेवारी सम्हालिन् ।
२०७३ चैत्र ७ गते उनी आएपछि कार्यालयको कामकाज क्रमिक रुपमा ब्यवस्थित हुनथाल्यो ।वडा कार्यालयहरु थप गरिए र डिजिटलाइज्ड गरी सेवा प्रवाह छिटो छरितो बनाउने प्रक्रियाको थालनी गरियो । नगरको समग्र विकासमा योगदान पु-याएवापत उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । परिवर्तन आएको छ । नगरका लागि उनको कार्यकाल प्राचीन हिन्दू धर्मशास्त्रमा वर्णित धनकी देवी लक्ष्मीको आगमन भएझैँ महसुस भएको स्थानीयबासी बताउँछन् । नगरले उनको कार्यकालमा समृद्धितर्फ पाइला चालेको छ ।स्थानीय तह निर्वाचन स्वच्छ,निष्पक्ष र मर्या्दित वातावरणमा सम्पन्न भयो,जनप्रतिनिधि आए ।तिनलाई सही मार्गदर्शन दिइरहेकी छन् उनले । जनप्रतिनिधिमा देखिने शासन सञ्चालन सम्बन्धी अस्पष्टता,द्विविधा र कठिनाई उनले समाधान गरिदिन्छन् ।
मृदुभाषी, सरल, सहज , इमान्दार,प्रतिभाशाली, प्रखर तार्किक बौद्धिक क्षमतायुक्त र नियममा अडिग रहने गौतम सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गर्छिन् । उनको हृदय र मनबीच साम्यता छ ।उनमा प्रज्ञा र करुणाको सम्मिश्रण पाइन्छ । उनको बोली जत्ति मीठो छ,व्यवहार पनि त्यत्तिकै राम्रो छ । नियमविपरीत काम हुन नदिन अडान लिने उनी नियमानुसार गर्न मिल्ने कामका लागि कहिल्यै नाइँनास्ति गर्दिनन् । एउटा कुशल प्रशासकमा हुनुपर्ने सबै गुण छन् उनमा।उनको कार्यकुशलताबाट सेवाग्राहीमात्र होइन कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिहरु पनि उत्तिकै प्रभावित छन् । कतिपय सरकारी कर्मचारीमा अनियमितता गरेर कमाउनुपर्छ भन्ने भावना हुन्छ तर गौतमले भने निःस्वार्थ ढंगले नियमानुसार पाउने तलबमात्र लिएर उत्कृष्ट सेवा गरिरहेकी छन् ।
उनले उल्टो आफ्नै तलबबाट विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्दै आएकी छन् ।प्रमुख प्रशासकीय अधिकृतको गरिमामय पदलाई उनले जागिर होइन,नागरिकको सेवा गर्ने अवसरका रुपमा लिएकी छन् ।आफ्नो जिम्मेवारीप्रति समर्पणको भाव छ ।शनिबार,बिदाको दिनमा पनि उनी नगरक्षेत्रमा आयोजना हुने कार्यक्रममा व्यस्त हुन्छिन् ।कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेकले निर्णय लिनु उनका विशेषता हुन् ।
नेपालको सन्दर्भमा महिलालाई निजामती सेवाको उच्च पदमा पुग्न निश्चय पनि सहज हुँदैन ।संघर्ष गरेर उनी मर्यादाक्रमको बाइसौँ स्थानमा पुगेकी हुन् । तर उनमा कुनै दम्भ,अहंकारको नामोनिशान भेटिँदैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वकी धनी गौतमको आदर्श ‘सादा जीवन उच्च विचार’ हो ।
यसअघि तत्कालीन जिल्ला विकास समिति, अर्घाखाँचीको स्थानीय विकास अधिकारी भएर स्थानीय विकाससम्बन्धी गहन अनुभव संगालिसकेकी छन् । अर्घाखाँची जिल्लाप्रति उनको गहन अनुराग, लगाव र प्रेम छ । अर्घाखाँचीको विकास र समृद्धिको हृदयदेखि कामना गर्ने गौतम केही समय स्थानीय विकास मन्त्रालय र कार्यविनाय नगरपालिका, ललितपुरमा पनि कार्यरत थिइन् ।