मुलुकभर नयाँ वर्ष २०७५ को मुलुकभर भव्य स्वागत ! New Year 2075

मुलुकभर नव वर्ष २०७५  को भव्य स्वागत गरिएको छ । 
आजबाट नयाँ वर्ष २०७५ औपचारिक रुपमा प्रारम्भ भएको छ । २०७४ साललाई विदाई गरिएपछि राती १२ बजेबाट नयाँ वर्ष २०७५ को प्रारम्भ भएको हो ।  नयाँ वर्षको औपचारिक सुरुवात भएसँगै मुलुकभरका मानिसहरुले आ-आफ्नो देशमा हर्षोल्लासपूर्वक बिभिन्न मनोरञ् जनात्मक कार्यक्रम गरी यसको भव्य स्वागत गरेका छन् । अहिले नेपालको राजधानी काठमाडौं लगायत देशभरका प्रमुख शहरमा रातभर बिभिन्न कार्यक्रम गरिएका छन् ।
नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । यो नै विक्रम सम्वत्को पहिलो दिन हो ।
आज विक्रम संवत् २०७५ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति र वर्षको जेठो दिन पनि हो ।
प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।
आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम विक्रम सम्वत् शास्त्रीय सम्वत भएको बताउँछन् ।
सौरमान र चान्द्रमान दुबैलाई समन्वय गरेर बनाइएको सम्वत नै विक्रम सम्वत हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।
काठमाडौंको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने बाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ । काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।