बालबिबाह सम्बन्धी उजुरीमा अनुसन्धान र कारबाहीमा ध्यान नदिएको सरोकारवाला संस्थाको आरोप

बालबिबाह सम्बन्धी उजुरी दिंदा प्रहरीले अनुसन्धान र कारबाहीमा ध्यान नदिएको सरोकारवाला संस्थाले आरोप लगाएको छ ।
अभिभावकले उमेर नपुगी गरिदिएको बालबिबाह रोक्न माग गर्दै दिएको उजुरी प्रहरीले बेवास्ता गरेको संस्थाका प्रतिनिधिको गुनासो छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीकी १६ वर्षीया सबना खातुनको मोरङ, रंगेलीका कयामुद्दिनसँग गत फागुन १५ गते बिबाह तय भएको थियो। परिवारले कार्ड छापेर आफन्त र छरछिमेकलाई निम्तो पनि गरिसकेको थियो। रिलिफ नेपाल फाउण्डेशन नामक संस्थाका प्रतिनिधिले यो थाहा पाएर उपमहानगरलगायत निकायमा निवेदन दिएको थियो। संस्थाकी अध्यक्ष रबिना खातुनले उक्त निवेदनमा अनुसन्धान र कारवाही नगरी बेवास्ता गरिएको बताइन्।
त्यसबेला तय भएको बिहे संस्थाकै पहलमा रोकिएको थियो। तर केही दिनमै अभिभावकले सुटुक्क ती किशोरीको उनै युवकसँग बिहे गराएको संस्थाको भनाइ छ। यो बिबाह रोक्न इलाका प्रहरी रंगेलीमा संस्थाकै तर्फबाट चैत अन्तिम साता उजुरी दिएको थियो।
इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार सुनसरीको पकलीस्थित इलाका प्रहरीमा पत्राचार गरी किशोरी र उनका अभिभावकलाई झिकाउन अनुरोध गरिएको छ। उनीहरु आएपछि केटा पक्षलाई समेत उपस्थित गराएर वास्तविकता बुझ्ने उनले बताए। बिहेको सबै प्रमाण जुटेपछि मुद्दा दर्ता गर्नुपर्ने अवस्था भए त्यसैअनुसार प्रक्रिया अघि बढाइने उनको भनाइ छ। कान्तिपुरमा समाचार छ ।