प्रधानमन्त्री ओलीले देशलाई केही वर्षभित्रै सम्पन्न राष्ट्रको रूपमा अघि बढाइने बताएका छन्।
नुवाकोटको ककनीमा आज स्काउटको तेस्रो जम्बोरीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाललाई अब गरिब देश होइन केही वर्षभित्रै सम्पन्न राष्ट्रको रूपमा पहिचान गराउँदैछौं।’
नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रूपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सरकारले बालबालिका,यूवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताए। २०२४/०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ। अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
जम्बोरीमा भाग लिन नेपाल सहित भारत,भुटान,बंगलादेशबाट सहभागीहरु आएका थिए । सेतोपाटीमा समाचार छ ।