काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताउनुभएको छ । समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कारवाही अभियान सञ्चालन गरेका गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भए पनि नछाडने चेतावनी दिनुभयो ।
नेताका घरधनी, सांसद वा ठूलै नेता भए पनि समयमै कार्य सम्पन्न नगर्ने ठेकेदार अपराधि हुने र उनीहरूलाई राज्यले कारवाही गरेरै छाड्ने छ गृहमन्त्री थापाले भन्नु भयो, सरकारले राज्यको ढुकुटी दुरुपयोग गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने ठेकेदार पुष्पकमल दाहालकै घरधनी भए पनि नछाडने दृढता व्यक्त गर्नुभयो ।
बुधबार मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सडकको काम अधुरै छाडेका प्रचण्डका धरधनी शारदाप्रसाद अधिकारीलाई कारवाही हुन्छ हुँदैन भनि राखिएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सरकार कानुन उल्लघंन गर्ने जो कोहीलाई कारवाही गर्न बाध्य हुने स्पष्ट पार्नुभयो ।
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भुरा र मझौला माछा समातिएको उल्लेख गर्दै अब ठूलै माछा पर्ने सम्भावना रहेको भन्दै सुन तस्करी नियन्त्रणको कामलाई माछा मार्ने कामको रूपमा चित्रण गर्दै अब ठूलै माछा पनि जालमा पर्न सक्ने अवस्था रहेको संकेत गर्दै गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर कारवाही गर्ने कामलाई निरन्तरता दिइने बताउनुभयो ।



