कपिलवस्तुको सीमावर्ती क्षेत्रमा भारतले बनाएको एकतर्फी बाँधका खेतीयोग्य जमिन डुबानमा, किसान समस्यामा
आषाढ़ ३१ गते, २०७५ मा प्रकाशित
असार सकिन लाग्दा पनि बर्षा नभएर धान रोप्न नपाएका कपिलवस्तुको दक्षिणी क्षेत्रका कृषक पानी परेपछि पनि खुशी हुन पाएका छैनन् ।
धान रोप्ने तयारीमा रहेकै बेला सीमावर्ती क्षेत्रमा भारतले बनाएको एकतर्फी बाँधका बारण खेतीयोग्य जमिन डुबानमा परेपछि किसान समस्यामा परेका हुन् ।
पानी नपरेकैले किसानले असार अन्तिमसम्म रोपाई गर्न पाएनन् ।
तर जसै बर्षा हुन थाल्यो धान रोप्ने चटारोले च्यापेकै बेला कपिलवस्तुको दक्षिणी क्षेत्रका कृषक भारतले एकतर्फी रुपमा बनाएको बाँधले आफ्नो खेतीयोग्य जमिन डुब्न थालेपछि चिन्तामा परेका हुन् ।
मुठी रोपेर मुरी फलाउने यस समयमा तराईका अधिकांश जिल्लामा डुबानको समस्या देखिएको छ । र यो कृषकले बर्षेनी ब्यहोर्नु परेको सास्ती हो ।
भारतको एकतर्फी बाँधका कारण दक्षिणी भेगका एक हजारभन्दा बढी हेक्टर धान रोपिएको खेत डुबेको छ ।
कपिलबस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ का भगवानपुर, लोहरौली, मुडिला, कचरिहवा, वडा नं. ७ स्थित रंगपुर, भैसहिया गाउँ, र मायादेवी गाउँपालिका वडा नं. ८ स्थित बरकुल, बिजुवा, जमुनी र हरिवंशापुर गाउँका एक हजारभन्दा बढी हेक्टर धान रोपेको खेत डुबानमा परेका हुन् ।
महलीसागरमा भारतले आफ्नो भूमि सिँचाइका लागि बाँध निर्माण गरेको छ ।
त्यसमाथि यसबर्ष त झन् भारतले १७ वटा फाटक बन्द गरी ४ फिट अग्लो पटरी नै लगाएर पानी थुनेको छ ।
२५ बर्षदेखि यस्तै समस्या झेल्दै आएका कपिलबस्तुवासीलाई यस वर्ष पनि यही नियतिले निदाउन दिएको छैन ।
धान रोपिएको कृषकका खेत डुबानमा परेपछि शनिवार कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले स्थलगत अनुगमन पनि गरे ।
सहमति बिना एकपक्षिय रुपमा भारतले बांध बनाएकोप्रति सरकार गम्भिर बन्नुपर्ने दुबै सांसदको भनाइ छ ।
भारतीय बाँधका कारण नेपालीको भूमि डुबान भएको बारेमा प्रधानमन्त्रीस्तरका भ्रमणमा समेत छलफल भएको बताइन्छ । तर जनताको समस्या ज्यूँकात्यूँ छन् ।
त्यस्ता भेटमा हाम्रा प्रधानमन्त्रीदेखि मन्त्री, सचिवसम्मले कुरा गर्छन् चाहिं के भनेर अहिले पनि कपिलवस्तुका प्रभावित क्षेत्रका यी बासिन्दाको सोधनी छ । इमेजखबरमा समाचार छ ।