डा. गोविन्द केसीको समर्थनमा देशभर विरोध-प्रदर्शन जारी

news
आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौं विशाल प्रदर्शन भएको छ ।
सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडी पनि सडकमा उत्रिएका छन् ।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।
कोणसभालाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताए ।
उहाँले सत्याग्रही डा. केसीको माग सम्बोधन नगरे मुलुकमा आगो बल्ने चेतावनी दिए ।
यसैबीच, तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो ।
तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।
अहिले तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् । इमेजखबरमा समाचार छ । 
पोखरामा स्वःस्फुर्तरुपमा प्रदर्शन
news
अनशनरत् प्रा. डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार पोखरामा स्वःस्फुर्तरुपमा प्रदर्शन भएको छ ।
डा. केसीको समर्थन र सरकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन पोखराबजार परिक्रमा गरी सिर्जनचोकमा पुगेर सभामा परिणत भएको थियो ।
र्‍यालीमा सहभागीहरुले ‘नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता’, ‘ओली सरकार मुर्दावाद’, ‘माफियामुखी ऐन चाहिँदैन’, ‘शिक्षा र स्वास्थ्यमा राजनीति बन्द गर’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
र्‍यालीमा सहभागीहरु ‘डा. केसीको साथमा छौं’, ‘डा. केसीको जीवनरक्षा गर’, ‘सरकारी गुन्डागर्दी अन्त्य गर’, ‘माफियातन्त्र अन्त्य गर’, ‘माथेमा प्रतिवेदन लागू गर’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा विद्यार्थी, युवा, महिला तथा विभिन्न पेसा, व्यवसायमा आवद्ध सर्वसाधारणको सहभागिता रहेको थियो । इमेजखबरमा समाचार छ ।