संखुवासभाको खाँदबारी अस्पतालमा चिकित्सक नबस्दा बिरामीलाई सास्ती

Image result for खाँदबारी अस्पताल
संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्याङकी एलिसा राईले जिल्ला अस्पताल पुग्दा चिकित्सक भेटिनन् । छातीमा समस्या देखिएपछि बिहीबार अस्पताल पुगेकी राई चिकित्सक नभेटिएपछि आकस्मिक विभागमा पुगिन् ।त्यहाँ पुगेर सोधखोज गर्दा उनले रसिद काट्ने सल्लाह पाइन् । १० रुपैयाँ पर्ने पुर्जीलाई राईले ५० रुपैयाँ खर्चिइन् ।
त्यसपछि उनको इको र एक्सरे भयो । तर, साँझको ५ बज्दा समेत चिकित्सक नभेटिएपछि राई घर फर्किइन् । १० रुपैयाँको पुर्जीलाई ५० तिर्दा समेत चिकित्सकले रिपोर्ट नहेरेको उनले गुनासो गरिन् ।
छातीमा समस्या र छिनछिनमा मुर्छा पर्ने समस्या भएकाले अस्पताल आएकी थिएँ, उनले भनिन्, चिकित्सक भेट्नै गाह्रो परेपछि त्यसै घर फर्किएँ । ईसीजी र एक्सरे गर्दा ५ सयभन्दा बढी खर्च लागेको उनले बताइन् । पुर्जी थमाउने र पैसा असुल्ने काम हुने तर, रिपोर्ट हेर्ने बेलामा चिकित्सक कहाँ जान्छन्, उनले भनिन्, ‘यो चरम लापरबाही भयो ।’ 
चिकित्सक ओपीडी सेवामा समेत नआउने गरेको उनले बताइन् । ‘ओपीडीमा उपचारका लागि जाँदा अहेब र हेल्थ असिस्टेन्टले जाँच्ने गरेका छन्, उनले भनिन्, ‘एमबीबीएस लेखिएको चिकित्सकका नाम भएका बोर्ड धेरै छन् तर, उपचार भने अरूसँगै लिनु परिरहेको छ ।’प्राय: ओपीडीमा १० बजे बिरामी हेर्नुपर्ने भए पनि चिकित्सकहरू १ बजेपछि मात्रै जाँचका लागि आउने गरेको पाइएको छ, समस्यै समस्या भयो । भरपर्दो सेवा पाइन्छ भनेर अस्पताल आउँदा उपचार पाइँदैन, उनले भनिन्, ‘कर्मचारी बीचको सम्बन्धका कारण हामीजस्ता सेवाग्राहीले दु:ख र कष्ट पाउनु भएन ।’
इमर्जेन्सीमा आएका बिरामीलाई समेत हेर्न चिकित्सक नआउने उनले बताइन् । शुक्रबार त्यही रिपोर्ट बोकेर बिहान ८ बजे आए पनि चिकित्सकले वास्ता नगरेको उनले गुनासो गरिन् । शुक्रबार पनि साढे ११ बजे मात्रै उनको रिपोर्ट चिकित्सकले हेरेका थिए ।२४ घण्टा बितिसकेपछि बल्ल चिकित्सक भेटें, उनले भनिन्, ‘त्यसपछि रिपोर्ट बुझाएँ र सल्लाहअनुसार औषधि लिएकी छु ।’ अस्पतालको ओपीडी सेवामा दैनिक ३ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यो अस्पतालमा भोजपुरका ३ वटा गाउँ र नगरपालिकाका बिरामी समेत उपचारका लागि आउने गरेका छन् । एक दिनको पैदलबाट आएका बिरामीलाई आकस्मिक सेवाको पुर्जी थमाउने गरिएको छ । 
भोजपुर षडानन्द नगरपालिका १ नेपालेडाँडाका बलबहादुर निरौला पनि सरकारी अस्पतालमा चिकित्सक नभेटिएपछि निजी अस्पताल पुगे । कहिले कर्मचारीकोको आन्दोलन, कहिले चिकित्सक नभेटिने समस्या छ, उनले भने, ‘एक दिन हिँडेर आएपछि अन्यत्र महँगोमा उपचारका लागि जानुपर्ने बाध्यता बनेको छ ।’ 
जिल्ला स्वास्थ्यका निमित्त प्रमुख लक्ष्मण खड्काले टाढाबाट आएका र इमर्जेन्सीका सबै बिरामीको उपचार गरेर पठाउने बताउँछन् । सकेसम्म यहीँबाट उपचार गराउने र बिरामीलाई निको पारेर पठाउने हाम्रो चाहना हो, उनले भने, ‘अब यस्ता समस्या आउन दिन्नँ ।’ कान्तिपुरमा समाचार छ ।