प्रेम खड्का
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क देखि बल्कोट सडकखण्डमा निमार्ण भएको सडक एक महिना नपुग्दै भत्किन थालेको छ ।
सन्धिखर्क देखि बल्कोट सडकखण्डमा कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएको हो । सडक भत्किदै गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
एक महिना अघिमात्र २५ एमएमको कालोपत्र गरिएको यस सडकका दर्जनौँ स्थानमा प्वाल परेको, भासिएको पाइएको छ ।
निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक बनाउनेबित्तिकै भत्किएको स्थानीयवासीले बताउँछन् । सडक मर्मत र कालोपत्रे गर्न चाहिने चिप्स गिट्टीसमेत नहालिएको र पहिले बेस बनाउँदा प्रयोग भएका गिट्टी पनि गुणस्तरहीन भएकाले सडक भत्केको देखिन्छ ।
करोडौको लागतमा कालोपत्रे गरिएको सडकमा सवारी चलाउनै मुस्किल हुने गरी खाल्टाखुल्टी भएको छ। सडक बिग्रिएको गुनासो गर्न जाँदा आयोजनाले ठेकेदारको प्रतिनिधिजस्तो गरी उसकै पक्षमा वकालत गरेको देखिन्छ ।
कालोपत्रे गरिएको सडकखण्डको काम सकिन नपाई भत्कन थाल्नुलाई ठेकेदारको चरम लापारबाही र सडक डिभिजन कार्यालय तथा अन्य सरोकारवाला निकायको बेवास्ता भन्दै स्थानीय वासिन्दा आक्रोशित समेत भएका छन् ।
लामो समयसम्म धुवाँधुलो खाएर बस्न बाध्य सो सडक वरपरका बासिन्दालाई सडक कालोपत्रे भएपछि राहत मिले पनि कम गुणस्तरका कारण छिट्टै सडक बिग्रन थालेपछि स्थानीयवासीलाई फेरि धुलोले सताउने चिन्ताले पिरोल्न थालेको छ ।
अर्घाखाँचीमा ९८ प्रतिशत भन्दा बढी ठेकदार कामचोर छन् । उनिहरुले २५ प्रतिशत काम गरेर ७५ प्रतिशत पैसा खाँदै आएका छन् । यसमा जिल्लाका राजनीतिक दलका नेता, स्थानिय प्रतिनिधिसँग मिलोमतोमा रहेको जिल्लाबासी बताउदै आएका छन् ।