प्रतिनिधिसभा मातहतका विषयगत समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचनको मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।
बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए ।
प्रतिनिधिसभा मातहत १० ओटा विषयगत समिति छन् ।
यसअघि, अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी तथा फर्छ्योट विधेयक २०७५ सदनसमक्ष पेस गरे ।
अर्थमन्त्री डा. खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटो–छरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए ।
प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ । रासस