बिम्स्टेक मन्त्रीस्तरीय बैठकबाट शिखर सम्मेलनका एजेन्डा पारित

news
 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकले तयार पारेको एजेन्डालाई पारित गरेको छ ।
बुधबार काठमाडौंमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रहरुको १६औं मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकले मंगलबार तयार पारेको एजेन्डामाथि छलफल गरी पारित गरेको हो ।
बैठकले बिम्स्टेक ग्रीड इन्टर कनेक्सनको सम्झौतापत्र पनि पारित गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।
सचिवस्तरीय बैठकले विभिन्न ८ ओटा क्षेत्रका १४ ओटा विषयमा छलफल गरी एजेन्डा बनाएको थियो ।
क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सन्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण, कृषि, गरिबी निवारण र जनस्वास्थ्यलगायतका विषयमा एक भएर अगाडि बढ्ने सहमति सदस्य राष्ट्रहरुबीच भएको छ ।
मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण संगठनको अबको कार्यसूची हुनुपर्ने बताए ।
व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रुपान्तरण हुने भन्दै उनले त्यसनिम्ति रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सम्पर्क विस्तार, ऊर्जा र प्रविधिको अधिक उपयोगबाटमात्र सम्भव हुने बताए ।
क्षेत्रीय समृद्धि र विकासका लागि सदस्य देशहरुबीच सघन सहयोग, सहकार्य र साझेदारी हुनुपर्छ भन्दै मन्त्री ज्ञवालीले सहयोगका प्राथमिकता क्षेत्र पनि निर्धारण गर्नुपर्नेमा जोड दिए ।
सम्पर्क विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक उन्नयनका मुख्य क्षेत्रमा सहायताकेन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
बैठकमा बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अली, भारतका बाह्य मामिला राज्यमन्त्री भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्यान्डका विदेशमन्त्री दोन प्रमुदविनय र भुटानका विदेशसचिव सोनाम छोङ्ले सहभागी थिए । रासस