५ नम्बर प्रदेशमा भित्रियो मेट्रोसिटी बस


भोजराज घिमिरे


बुटवल, (अर्घाखाँची डट्कम) रुपन्देहीमा प्रालिमार्फत यातायात सेवा सञ्चालन गर्ने गरी लुम्बिनी मेट्रोसिटी सञ्चालनमा आएको छ । यो जिल्लाको दोस्रो यातायात कम्पनी हो ।

यसअघि सिद्धार्थ यातायात प्रालिले सेवा सञ्चालन गरिसकेको छ । लुम्बिनी मेट्रोसिटी प्रालिले आउँदो असोज १ गतेदेखि ४५ सिट क्षमताका वातानुकुलित बस सञ्चालन गर्ने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए । एक करोड चुक्ता पुँजीबाट शुरु भएको प्रालिले पहिलोचरणमा बुटवलबाट बेलहिया, लुम्बिनी, बर्दघाट, तौलिहवा र कृष्णनगरका लागि ५ वटा बस सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताए ।

असोजभित्र १० वटा र मंसिरसम्म ३० वटा बस पुर्‍याई प्रदेश ५ का १२ वटै जिल्ला तथा काठमाडौं, पोखरा, विराटनगर र काकडभिट्टासम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रालिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


भाडा २० प्रतिशत महंगो


बसमा जेष्ठ नागरिकलाई ५० प्रतिशत, क वर्गका अपांगलाई निःशुल्क र विद्यार्थीलाई परिचयपत्रका आधारमा ४५ प्रतिशत छुट दिइने प्रालिका सञ्चालक कर्णबहादुर केसीले जानकारी दिए ।

पूर्ण वातानुकुलित भएकाले प्रचलित भाडा दर भन्दा २० प्रतिशत बढी भाडा दर हुने प्रालिले जनाएको छ ।
प्रालिमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

रुपन्देहीमा मुलुककै ठूलो पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात व्यवसायी समिति र बुटवल यातायातले बस सेवा सञ्चालन गरिरहेका छन् ।

प्रालिले यातायात क्षेत्रमा रहेको सिण्डिकेटलाई खारेज गर्ने सरकारको निर्णयको स्वागत गर्दै पूर्णरुपमा खारेज गर्न मागसमेत गरेको छ ।