राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।
बैठकले ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत् गरेकी थिइन् ।
त्यस्तै, ‘जैविक विविधता महासन्धिअन्तर्गत् जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नायोगा अभिसन्धि सम्मेलन गर्नेसम्बन्धी प्रस्तावलाई सर्वसम्मतीति स्वीकृति गरेको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोसम्बन्धी प्रस्ताव प्रस्तुत् गरेका थिए ।
बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले राखेको ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अपराध पीडितको संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका थिए ।
राष्ट्रिसभाको अर्काे बैठक यही भदौ २९ गते बिहान ११ बजे बस्नेछ । रासस