समयसीमाभित्रै विकास निर्माणका काम सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

नेपाल निर्माण व्यवसायी संगठनले शनिबार राजधानीमा आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा पनि गरे ।
उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराए ।

निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गरे ।
उनले सरकारले सुरु गरेका विभिन्न रचनात्मक कार्यहरुले गति लिने बेला आएको पनि स्पस्ट पारे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले निर्माण व्यवसायमा रहेका कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले भने–‘सरकारका तर्फबाट कर्मचारी प्रशासनमा रहेको कमजोरी, ऐन–कानुनले पारेको प्रभावलगायतका समस्या समाधानका लागि सरकारले सकारात्मक पहल गर्नेछ ।’

आन्तरिकरुपमा नै निर्माण व्यवसायभित्र रहेको समस्या समाधान गरेर सुरक्षित र स्वच्छ वातावरण नबनाउँदासम्म विदेशी लगानीकर्ता र निर्माण व्यवसायीलाई भित्र्याउन नसकिने भएकाले आफूहरु त्यसका लागि सकारात्मक रहेको अध्यक्ष दाहालको भनाइ छ । अध्यक्ष दाहालले भने–‘केही ठूला व्यवसायीको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । समयमै काम सम्पन्न गर्ने व्यवसायीलाई विशेष सुविधा दिन पनि प्रयास गरिनेछ ।’

भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा व्यवसायीले उठाएका माग सम्बोधन गर्न सरकारले निर्णय गर्नेसमेत उनको भनाइ थियो । सरकारले नयाँ युगतिर मुलुकलाई अगाडि बढाउने प्रयास गरेको भन्दै अध्यक्ष दाहालले यस ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई पूरा गर्दै समृद्धिको महायात्रालाई पूरा गरेरै छाडिने उनले स्पस्ट पारे । तत्कालीन नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद र तत्कालीन नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासंघबीच एकता भइ नेपाल निर्माण व्यवसायी संगठन स्थापना भएको सो अवसरमा जानकारी गराइयो ।